सेन्सर सिफारिशमा बोर्ड लचिलो, ४ दिन अगाडि मात्र दरखास्त दिए पुग्ने

पुष १२, २०७९


चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्रको सेन्सरको सिफारिश लिनका लागि फिल्म प्रदर्शन भन्दा ७ दिन अगाडि नै दरखास्त पेश गर्नुपर्ने नियमलाई संसोधन गरेको छ । चलचित्र बिकास बोर्डको बैठकले अब चार दिन अगावै दरखास्त पेश गर्नुपर्ने नयाँ नियम बनाएको छ । यस्तै, बोर्डले बेलुकी ११ बजेपछि फिल्म प्रदर्शन सुरु गरि प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ती सुरक्षाको व्यवस्था सुनिश्चित हुनेगरि प्रदर्शकले फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसरी उक्त समयमा फिल्म प्रदर्शन गर्नु परेको खण्डमा विकास बोर्डमा मात्र जानकारी गराए हुने नयाँ निर्णय गरेको छ ।

यसअघि ११ बजेसम्म सकिने गरि फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नु परेमा जिल्ला प्रशासन कार्यलयको स्विकृती लिई चलचित्र विकास बोर्डलाई जानकारी दिनुपर्ने नियम लगाइएको थियो । बोर्ड यी दुबै बिषयमा लचक बनेको छ । चलचित्र संघले मुख्यतया यी दुई बिषयमा आपत्ती जनाउँदै विरोध गर्ने चेतावनी दिएपछि विकास बोर्ड अध्यक्ष भुवन केसी लचिलो बनेका हुन् । उनले, फिल्म क्षेत्रका समस्याहरुको समाधानका लागि विभिन्न संघसंस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रिया गर्न बोर्ड सधै तयार रहेको समेत बताए ।