बैशाख १५ मा, त्रिपक्षीय भिडन्त निश्चित

चैत २९, २०७९


बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरेर पनि अन्तिम घडीमा मैदान छाडेको फिल्म ‘नाईं नभन्नू ल ६’ अब आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । यो फिल्मले श्रमिक दिवस र बुद्ध जयन्तीको विदालाई लक्षित गर्दै उक्त मिति रोजेको हो । अब यो मितिमा त्रिपक्षीय भिडन्त हुनेछ । सोही मितिलाई यसअघि नै ‘कैदीको पत्र’ र ‘प्रसाद २’ ले प्रदर्शन मिति तोकिसकेका छन् ।

विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा आशिर्वाद क्षेत्री, आँचल शर्मा, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अथर्व उप्रेती निखिल उप्रेतीका छोरा, योगिशा खत्रीलगायतको अभिनय रहेको छ भने ‘नाईं नभन्नू ल’ सिरिजका पर्याय मानिने अनुभव रेग्मी केमियो भूमिकामा छन् । यस फिल्मलाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले मिलेर लेखेका हुन् ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।