अनमोल र आनाको जेरी,अन टप’ को छायांकन अष्ट्रेलियाबाट सुरु हुँदै

बैशाख ०४, २०८०


अनमोल केसी र आना शर्मा स्टारर रोमान्टिक ड्रामा ‘जेरी, अन टप’ को छायांकन वैशाख २५ गतेदेखि अष्ट्रेलियाबाट सुरु हुने भएको छ । निर्माता सरोज न्यौपानेले आइतबार छायांकन मिति तय गर्दै आफूहरु त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिए ।

निर्देशक हेमराज बीसी आगामी साता नै अष्ट्रेलिया जाने तयारीमा छन् भने निर्माता न्यौपाने, अनमोल, आनासहितको प्राविधिक टोली वैशाख २१ गते अष्ट्रेलिया पुग्नेछ । ३० दिन रहेर सिड्नी र ब्रिसबेनमा फिल्म छायांकन गर्ने योजना छ । एउटा गीतको छायांकन चाहिं न्युजिल्याण्डमा हुने न्यौपानेले बताए ।

अष्ट्रेलियाको चरण सकिएपछि टोली नेपाल फर्किएर बाँकी छायांकन गर्नेछ । अष्ट्रेलियादेखि नेपालसम्मको कथावस्तु समेटिएकाले फिल्मलाई दुवै देशमा छायांकन गर्न लागिएको हो । ‘छड्के २’ असफल भएपछि अनमोलसामु ‘जेरी अन टप’ लाई हिट गराउनुपर्ने दबाब पनि छ । ब्लकबस्टर ‘छक्कापञ्जा ४’ पछि हेमराजको यो पहिलो निर्देशकीय प्रोजेक्ट हुनेछ ।

फिल्ममा अनमोल र आनाको शीर्ष भूमिका रहनेछ । जेरीको अघिल्लो शृंखलामा पनि दर्शकले आना र अनमोललाई जोडीको रुपमा देखेका थिए । निर्माता न्यौपानेले फिल्मलाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने र दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।