बालेनको चेतावनी- ‘आदिपुरुष’को संवाद नसच्याए काठमाडौंमा कुनै हिन्दी फिल्म चल्न दिन्नौं’

जेठ ३२, २०८०


भोलि शुक्रबारबाट संसारभर प्रदर्शनमा आउन लागेको भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्याएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिइने चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएका छन् । उनले बिहीबार साँझ फेसबुकमा स्टाटस लेख्दै संवाद सच्याउन तीन दिनको समय दिएका छन् ।


बालेनले लेखेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस ।’ उनको यो निर्णयसँगै ‘आदिपुरुष’को काठमाडौं प्रदर्शन अन्योल बनेको छ ।

balen


‘आदिपुरुष’को यही संवादलाई लिएर नेपालको सेन्सर बोर्डले आपत्ति जनाउँदै संवाद सच्याएर ल्याउन वितरकलाई आग्रह गरेको थियो । बिहीबार वितरकले उक्त संवाद सच्याएपछि फिल्मलाई सर्टिफिकेट दिइएको छ । तर, मेयर शाहले फिल्ममा समावेश उक्त संवाद भारतमा नसच्याएसम्म काठमाडौंभित्र चल्न नदिने चेतावनी दिएपछि सामाजिक सञ्जालमा उनको प्रशंसा भैरहेको छ ।