रेखाको ‘उपहार’ मा बेनिशा हमाल र मिस्टर नेपाल समर्पणजंग कार्की अनुबन्धित

साउन १६, २०८०


रेखा फिल्म्सले निर्माण गर्न लागेको आगामी फिल्म ‘उपहार’ मा कलाकारको ‘लाइनअप’ पूरा भएको छ । अभिनेत्री बेनिशा हमाल र गत साता मिस्टर नेपाल २०२३ को उपाधि जितेका समर्पणजंग कार्की पनि फिल्ममा जोडिएका छन् । निर्मात्री तथा अभिनेत्री रेखा थापाले यी दुई जनालाई कलाकारको रुपमा अनुबन्धित गरिएको जानकारी दिइन् । बेनिशासँग आइतबार र समर्पणसँग उनी मिस्टर नेपाल घोषित हुनुअघि नै साइन भइसकेको रेखाले बताइन् । बुद्ध एयरका व्यावसायिक पाइलट समेत रहेका कार्कीको यो डेब्यु फिल्म हुनेछ । रेखा फिल्म्सले पहिलेदेखि नै नयाँ प्रतिभा र कलाकारलाई डेब्यु गराउँदै आइरहेको छ ।

त्यसैको निरन्तरता स्वरुप मिस्टर नेपाल कार्कीलाई डेब्यु गराएका हौं, रेखाले भनिन् । ‘उपहार’ निर्देशक समेत रहेका ज्ञानेन्द्र देउजा र रेखाको सहकार्य रहेको फिल्म ‘हिफाजत’ मा अहिलेका चर्चित सिनेम्याटोग्राफर विष्णु कल्पित र अभिनेता आयुष रिजालले डेब्यु गरेका थिए । अहिलेको फिल्मलाई पनि कल्पितले खिच्ने भएका छन् । आइतबार कल्पितसँग पनि सम्झौता भएको छ । फिल्मको शीर्ष भूमिकामा यसअघि रेखासहित पूजा शर्मा र मुकुन भुसाल पनि फाइनल भइसकेका छन् । फिल्मको छायांकन भदौ ७ गतेदेखि सुरु हुने जनाइएको छ ।