‘घर ज्वाइँ’ मा दयाहाङ र मिरुनाको जोडी

साउन २८, २०८०


‘कबड्डी ४’ र ‘जारी’ को ‘रेकर्डब्रेक’ सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई फिल्ममा खेलाउन मेकरहरुबीच खोसासोख छ । उनीहरुले पनि सहकार्यलाई निरन्तरता दिइरहेका छन् । फिल्म ‘नाङ्गो गाउँ’ मा काम गरिसकेका उनीहरु भदौबाट फिल्म ‘रंङ्गेली ग्याङस्टार’ मा काम गर्दैछन् ।

यसबीच, दयाहाङ र मिरुनालाई लिएर अर्को नयाँ फिल्म बन्ने भएको छ, ‘घर ज्वाइँ’ । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकामा एक महिना अगाडि दयाहाङ अनुबन्धित भएका थिए भने यसै हप्ता मिरुनासँग सम्झौता गरिएको छ । फिल्ममा उनीहरुको जोडी बाँधिने जनाइएको छ । आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् ।

जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा दया र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा काउचाको पनि अभिनय रहनेछ । निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेको फिल्मको छायांकन रुकुममा हुनेछ । नामले नै फिल्मको कथावस्तुबारे बुझाउँछ । रोहित-रत्नको आरआर फिल्म्सले फिल्मलाई देशभर वितरण गर्नेछ ।