‘वडा नम्बर ६’ को सिक्वेल बन्ने

भदौ ०४, २०८०


दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले ‘छक्का पञ्जा’ पछि अब सुपरहिट फिल्म ‘वडा नम्बर ६’ को सिक्वेल निर्माण गर्ने भएको छ । दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्मको अहिले कथा लेखनको काम भैरहेको छ । ‘वडा नम्बर ६’ को कथाको निरन्तरताको रुपमा फिल्म बन्ने जनाइएको छ । आगामी मंसिरबाट छायांकन सुरु हुने फिल्मलाई आगामी नयाँ वर्षमा रिलिज गरिने तयारी छ ।

२०७२ सालमा सार्वजनिक प्रदर्शनमा आएको उज्जवल घिमिरे निर्देशित ‘वडा नम्बर ६’ मा दीपकराज गिरी, केदार घिमिरे, सीताराम कट्टेल, दयाहाङ राई, प्रियंका कार्की, जितु नेपालको अभिनय थियो । समीक्षा पनि राम्रो पाएको यो फिल्म माओवादी जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको थियो । सिक्वेलको कथा दीपकराज आफैंले लेखिरहेका छन् । उनी थप दुई फिल्मको पनि स्क्रिप्ट लेखिरहेका छन् ।

निर्माता सरोज न्यौपानेको निर्माण र हेमराज विसीको निर्देशनमा बन्ने एक फिल्ममा पनि दीपकराज समुहले सहकार्य गर्दैछ । त्यस्तै, दिनेश राउतले निर्देशन र रोहित अधिकारीले निर्माण गर्ने फिल्ममा पनि दीपकराज समुह जोडिने सम्भावना छ । फिल्म निर्माण सँगै दीपकराज समुहले सिनेमा हल पनि सञ्चालन गर्दैछ । नयाँ बानेश्वरमा सञ्चालनमा आउन लागेको हलको चाँडै उद्घाटन गरिँदैछ ।