राष्ट्रिय चलचित्र पुरस्कार २०८० : हरिवंश सर्वश्रेष्ठ अभिनेता

भदौ १३, २०८०


यसवर्षको राष्ट्रिय चलचित्र पुरस्कार २०८० प्रदान गरिएको छ । मंगलबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड वितरण गरे । सर्वश्रेष्ठ फिल्म विधा समावेश नगरिकनै अवार्ड वितरण गरिएको थियो । जसमा ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ले जुरी अवार्ड प्राप्त गरे । सोसल ड्रामा फिल्म ‘प्रकाश’बाट दिनेश राउत सर्वश्रेष्ठ निर्देशक घोषित भए । सर्वश्रेष्ठ पटकथा विधामा ‘चिसो मान्छे’बाट दीपेन्द्र के खनालले ट्रफी उचाले । यो फिल्मले कोरोना महामारीको समयमा कतारबाट ल्याइएको शवलाई दुर्गम जुम्ला पुर्‍याउन मुख्य पात्रले गर्नुपरेको संघर्ष पेश गर्छ ।

‘महापुरुष’ बाट हरिवंश आचार्य सर्वश्रेष्ठ अभिनेता घोषित हुँदा दीया मास्के ‘प्रकाश’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् । यद्यपि, पोखरामा टेलिभिजन शो ‘रोडिज’को छायांकनमा ब्यस्त भएकाले दीया अवार्ड समारोहमा अनुपस्थित रहिन् । ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधान सर्वश्रेष्ठ छायांकार घोषित भए । निमेष श्रेष्ठले ‘दोख’ बाट सर्वश्रेष्ठ सम्पादकको ट्रफी उचाले । आदिवासी जनजाति फिल्म विधातर्फ मुनाल फिल्म्सको ‘ह्युलन छायाँ बा’ सर्वोत्कृष्ट घोषित भयो । २०७८ सालको विशेष फिल्मतर्फ टुल्की र नीरमाया उत्कृष्ट भए । २०७९ सालको विशेष फिल्ममा बुलाकी, प्रसाद २ र चिसो मान्छे सर्वोत्कृष्ट भए । यी फिल्मले सबटाइटलका लागि २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले अभिनेता शिवसुन्दर श्रेष्ठ र अभिनेत्री लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान प्रदान गरे । साथै, ३५ जना फिल्म र संगीतकर्मीलाई विशेष योगदान सम्मान प्रदान गरियो । समारोहमा बोल्दै संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७१ सालको फिल्म नीतिको पुनरावलोकन गर्ने क्रम जारी रहेको बताउँदै फिल्म कानून निर्माणको लागि चलचित्र ऐनको विधेयकको मस्यौदा बनिरहेको जानकारी दिइन् । नेपाली फिल्मलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धी बनाउन जरुरी रहेको र सघाउन सरकार तयार रहेको मन्त्री शर्माको भनाई थियो ।

यसका लागि सरकार चाँडै फिल्मकर्मीसँग छलफल गर्ने तयारीमा छ’ उनले भनिन् । कथानक मात्र नभएर डकुमेन्ट्री र छोटा फिल्मको प्रवद्र्धन गर्ने योजना रहेको बताउँदै मन्त्री शर्माले मौलिक कथालाई स्टोरी बैंकमार्फत सघाउने क्रम निरन्तर रहने बताइन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्नको लागि सरकारको सहयोग जरुरी रहेको बताएका थिए । सो अवसरमा बोर्डको तर्फबाट राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरिएको थियो । नेपाली सेनाको टुकडीले उक्त अवसरमा फिल्म ‘मनको बाँध’ देखि पछिल्लो समयका फिल्मसम्मको संगीत समेट्दै धुन प्रस्तुत गरेको थियो ।