खुल्यो सिनेमा हल

पुष १२, २०७७


कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आएका छन् । सरकारले सिनेमा हल सञ्चालनको अनुमति नदिए पनि हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको विधि अपनाएर हल खोलिएको नेपाल चलचित्र संघले बताएको छ । तत्काल हलमा ५० प्रतिशत मात्र दर्शक राखेर फिल्म देखाइनेछ ।

शुक्रवारबाट सिंगल र मल्टीप्लेक्स दुवैतर्फ कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका दुई फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन भएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले भने यी दुई नेपाली फिल्म सँगै दुई हलिउड फिल्म ‘ब्लडसट र दि इनभिजिबल म्यान’ पनि प्रदर्शन गरेको छ । प्रायः मल्टीप्लेक्सले यी सबै फिल्मलाई एकरएक शो दिएका छन् ।

कोरोनाको भयले निर्माताहरु नयाँ फिल्म प्रदर्शन गर्न तयार नभएपछि हल सञ्चालकहरु केही समय पुरानै फिल्म चलाउने तयारीमा छन् । अर्को हप्ताबाट दुई सुपरहिट फिल्म ‘छ माया छपक्कै र कबड्डी कबड्डी कबड्डी’ पुनः प्रदर्शन गर्ने तयारी भएको बुझिएको छ । अहिले दर्शकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउन विशेष ध्यान दिइएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।

सरकारले हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने उनी बताउँछन् । सिनेमा हललाई डिसइन्फेक्सन गर्ने, सेनिटाइज गर्ने, मास्क अनिवार्य गर्ने, टिकट काउन्टरमा सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा अपनाएर दर्शकलाई फिल्म हेर्ने वातावरण बनाइएको उनले बताए । हलमा दर्शकको चाप बढेपछि नयाँ फिल्म प्रदर्शन गर्न निर्माता तयार हुने उनको विश्वास छ ।