ओली–नेपाल सम्बन्धका उतारचढाव

बैशाख १६, २०७७


अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको सम्बन्ध उतारचढावपूर्ण छ। मनोमहन अधिकारीको निधनपछि नेपालले करिब १५ वर्ष पार्टीमा एकछत्र राज गरेका थिए। त्यो राज विगत पाँच वर्षदेखि अध्यक्ष ओलीले गर्दै आएका छन्।

नेपालको नेतृत्वमा पार्टी रहँदा ओली पार्टीभित्रका प्रतिपक्षी जस्तो थिए। २०६२÷०६३ को जनआन्दोलनमा पार्टीको उद्र्दी अस्वीकार गर्दै ओली एक दिन पनि आन्दोलनमा सहभागी भएका थिएनन्। यसले पनि नेपाल शक्तिमा हुँदा ओलीले कुन तहको असहयोग गरेका थिए भन्ने स्पष्ट हुन्छ।

जब ओली शक्तिमा आए नेपाल कर्नरमा परेका थिए। तर, प्रकारान्तरले पार्टीको नेतृत्वमा नरहँदा पनि नेपाल फेरि शक्तिमा पुर्नउदयको बाटोमा देखिएका छन्।
तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनका बेला ओली र नेपाल एउटै लाइनमा उभिएका थिए। मदन भण्डारी पार्टीको महासचिव हुँदा एमालेले ‘जनताको बहुदलीय जनवाद’ लाई कार्यनीति बनायो। जुन कार्यनीति ०७३ सम्म कायम थियो।

२०५४ सालमा पार्टीको छैटौं महाधिवेशन भयो। नेपालगञ्जमा सम्पन्न उक्त महाधिवेशनमा पनि नेपाल–ओली एउटै समूहमा थिए। २०५९ सालको सातौं महाधिवेशनमा ओली–नेपाल आमनेसामने भए। जनकपुरमा सम्पन्न उक्त महाधिवेशनमा ओलीले अध्यक्षात्मक प्रणाली ल्याउने प्रस्ताव ल्याए। जसलाई नेपाललगायत नेताले अस्वीकार गरे।
२०५६ सालमा नेपाल पार्टी महासचिव भएकै बेला ओलीले संसदीय दलको नेता दाबी गरेका थिए। नेपालले दिएनन्। आफैँ संसदीय दलको नेता भए। त्यहीँबाट ओली नेपालसँग चिढिएका हुन्।

त्यसपछि ओली पार्टीमा प्रतिपक्षी जस्तो बन्न पुगेका थिए। बहुचर्चित महाकाली सन्धिका बेला ओली र नेपाल सँगसँगै थिए। संसदमा सांसदलाई महाकाली सन्धिको पक्षमा वकालत गर्न दुवै नेताले ह्वीप जारी गरेका थिए।

महाकाली सन्धिकै कारण एमाले फुट्यो। २०५४ सालमा सम्पन्न छैटौं महाधिवेशनपछि सन्धिलाई कारण देखाउँदै सीपी मैनाली र वामदेव गौतम मिलेर पार्टी फुटाए। नेकपा माले गठन गरे। पछि वामदेव एमालेमै फर्किए।

ओली र नेपालका व्यक्तिगत स्वभाव फरक–फरक छन्। आफूले उठाएका मुद्दा जबर्जस्त लाद्न ओली माहिर छन्। कडा स्वभावका ओलीमा वाककटुता छ। नेपालको स्वभाव अन्तर्मुखी छ। उनी प्राविधिक र सांगठनिक हिसाबमा अब्बल मानिन्छन्। पहिलो संविधानसभाको निर्वाचनपछि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन ओलीले सहयोग गरेका थिए।

नवौं महाधिवेशनमा ओली–नेपाल फेरि आमनेसामने भए। १५ वर्ष पार्टी हाँकेका नेपाल नवौं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आइपुगे। त्यसपछि नेपाल–ओलीबीचको द्वन्द्व बढिरहेकै छ। कुनै कालखण्डमा मिले पनि मूलभूत रूपमा दुई नेताबीचको दूरी बढिरहेको छ। दुई नेताबीच भागबण्डा र मन मिल्न नसक्दा पछिल्लो परिस्थितिको सिर्जना भएको हो।

पछिल्लो समय ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा प्रचण्ड–नेपालसमूह एक छ। तर, अध्यक्ष ओलीले नेपाललाई फकाउने प्रयास गरिरहेका छन्।