प्रिय गुरु जजुर,तिम्रो इज्जत माथि किन प्रश्न ?

जेठ ०२, २०८०     ध्रुव राज न्यौपाने (डि.आर.एन)



जसले निजी विद्यालयलाई चुनौती दिएको छ ,जो पश्चिम दाङको एक अव्वल सामुदायिक विद्यालय हो,जसले दृष्टिविहिनलाई समेत शिक्षाको ज्योति छरेको छ आज उहि गुरु जजुर माथी प्रश्न किन?

प्रिय गुरुजजुर,हजारौ विद्यार्थीहरुलाई ज्ञानको ज्योति छरेको तिमि आफै किन यति अन्धकार यात्रामा प्रवेश गर्न खोज्दैछौ ? हजारौ अभिभावकको आशाको केन्द्र तिमी आज किन यति धेरै विचलित भएका छौ ? तिमि निर्दोष वा दोषि जे सुकै भएपनि आज तिमि यो समुदायमा प्रश्नै प्रश्नको घेराभित्र घेरिएका छौ ।
प्रिय गुरुजजुर, जिवनकालको करिव चार वर्ष तिमी संग जोडिएर कर्म गर्ने मौका पाए । मलाई विश्वास गरेर तिमीले महत्वपूर्ण पदको जिम्मेवारी दिएका थियौ र त आज सम्म पनि तिम्रो त्यो भूमिको असाध्यै माया लागेर आउछ । तिमी प्रती मेरो मात्र माया हैन तिमी संग जोडिएका हरकुनै व्यक्तिको तिमी संग अघाध प्रेम छ ।
पेशाले जहाँ जुन भुमिकामा भएपनी गुरु जजुरको प्रसंशा गरेर कहिल्यै नथाक्ने पात्र हु म । किनकी तिमीले जिबनका अनेकौ उतारचढाव,भोगाई,सिकाई,असिमित ज्ञान र अनेकौ अनुभव सङ्गाल्ने अबसर प्रदान गरेका छौ ।
हजारौ माईलको यात्रा गर्न निस्केका हजारौ विद्यार्थीलाई जिवन भोगाईको उचित शिक्षा दिएका छौ । तिमीसंग संगै यात्रा गरेकाले पनि तिम्रो भूमिमाथि भएको अभद्रताले मन निकै विचलित भएको छ ।
खासै प्रतिक्रिया दिन नरुचाउने मलाई यो घटनाले भने रोक्न सकेन । केहि लेख्दिन भनेर शान्त मुद्रामा बसेको मलाई अचानक सामाजिक संजालमा भाईरल भएको भिडियोले भने अशान्त बनायो र आफुलाई सम्हाल्न नसकी मनमा खेलेका अनेकौ भावनाहरु पोख्न मन लाग्यो ।
प्रिय गुरु जजुर,तिमीले आफ्नो पहिचान त पक्कै विर्सेको छैनौ होला । यदि सफलताको भूमरीमा परी आफुलाई विर्सन खोज्दै छौ भने म अलिकती तिमिलाई तिम्रो परिचय याद दिलाउने दुष्साहस गर्दैछु ।

तिम्रो जन्म वि.सं. २०११ साल फाल्गुण ११ गतेका दिन अम्बास प्रतापकोट भन्ने ठाँउमा आजभन्दा करिव ६९ वर्ष पहिले भएको हो । तिमिलाई जन्माउन सयौं स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी तथा विशेष गरी समाजसेवी परशुराम गुरुङ लगायतको सक्रियताका कारण तिमी गूरु जजूर मिडिल स्कुलको नामबाट शैक्षिक दुनियामा भित्रिएका हौ ।
दाङमा औलो उन्मूलनको कारण पहाडतिरका बस्तीहरु क्रमशः दाङ तर्फ बसाईसराइ गर्ने क्रममा त्यसभेगका अधिकांश जनतासमेत दाङमै समथर भूभाग तर्फ झरेको र विद्यार्थीको अभाव भएको कारण २०२६ साल मङ्सिर महिनामा रक्षाचौरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा गाभी तिम्रो नाम गुरु जजुर मिडिल स्कुल हुन पुग्यो । २०२६ साल देखि २०३८ सालसम्म तिमि नि.मा.वि.तह सम्म मात्रै थियौ । २०३९ देखि २०४९ सम्म निजीस्रोत (अनुमति) बाट तिम्रो उचाई बढ्यो र माध्यमिक तह संचालन गर्ने अनुमति पाएका थियौ । शै.व. २०५२/०५३ देखि लागु हुने गरी तिमिले शैक्षिक जगतमा स्थायी स्वीकृति प्राप्त गर्यौ र २०६४ सालदेखि उच्च मा.शि.परिषद बाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र, व्यवस्थापन र मानविकीमा कक्षा ११ र १२ का कक्षाहरु पनि संचालन गर्ने अवसर प्राप्त गर्यौ । शै.व. २०६८ मा विज्ञान र विज्ञान शिक्षा विषयको समेत अनुमति प्राप्त भयो । यस्तै शै.व. २०७५/०७६ मा प्राविधिक तथा व्यवसायिक तालिम परिषद बाट डिप्लोमा तह ३ वर्षे बालि विज्ञान विषयको पठन–पाठन समेत गर्ने मौका पायौ । सुविधा सम्पन्न नमूना विद्यालयको अवधारण अनुसार २०७३/०७४ वर्ष देखि नमुना विद्यालयको रुपमा छनौट तिम्रो परिचय अचेल गुरु जजुर नमुना माध्यमिक विद्यालय (थप प्राविधिक तथा व्यवसायिक शिक्षा) कायम भएको छ ।

पश्चिम दाङको नमुना एवं अव्वल विद्यालयको रुपमा परिचित तिमी हजारौ विद्यार्थी तथा अभिभावकहरुको आशाको केन्द्र हौ । समाजमा शिक्षाको ज्योति छर्ने एक अव्वल संस्था पनि हौ तिमी । तिमी संग अहिले करिव दुई हजार पाँच सय भन्दा वढि विद्यार्थी छन् । तिम्रो पवित्र भूमिमा विद्यार्थीहरु पढ्नका लागि लालाहित हुने गर्छन । तिमीले गुणस्तरीय शिक्षा प्रदान गरेकाले निजी विद्यालयलाई समेत चुनौती दिन सक्ने सामर्थ्य राख्दछौ । सबैको आर्कषणको थलो बनेका छौ । तसर्थ तिमी पश्चिम दाङकै एक उत्कृष्ट,अव्वल अनि चिरपरिचीत शैक्षिक संस्था हौ । ब्रेललिपीको माध्यमबाट पठनपाठन गराएर दृष्टिविहिनलाई शिक्षाको ज्योति प्रदान गर्दै उज्यालो तर्फ डोर्याउने तिमी आज आएर आफै किन अन्धकारको बाटोमा हिड्न खोज्दै छौ ?

निजी विद्यालय भन्दा पनि राम्रो नतिजा दिन सामर्थ राख्ने तिमी आज किन आफ्नो सुनौलो यात्रा तय गर्न डगमगाईरहेका छौ ? सामुदायिक विद्यालय तर्फबाट जिल्लामै उत्कृष्ट नतिजा ल्याई तिमीले कमाएको तिम्रो ईज्जतमाथि आज किन प्रश्न उठेको छ ?
तिमीलाई के लाग्छ,तिम्रो ईज्जत केवल तिम्रो मात्र हो ? तिमी संग जिवनका विभिन्न कालखण्डमा जोडिएका संग तिम्रो ईज्जत गासिएको छैन ? तिमी गम्भिर हुन जरुरी छ ।

तिमीले उत्पादन गरेको जनशक्ति आज देशका विभिन्न ख्याती प्राप्त संस्थाहरुमा आवद्ध छन् । सरकारी सेवाको उच्च ओहदामा पुगेका छन् । डाक्टर,ईन्जिनियर भएका छन् । तिमी जस्तै शिक्षा प्रवाह गर्ने ठाँउमा नेतृत्व गरेका छन् । केहि जनताको सेवामा समर्पित भएका छन् । केहि राज्यको चौथो अङ्ग पत्रकारिता क्षेत्रमा क्रियाशिल छन । यि सबै व्यक्तिहरुको ईज्जत माथि आज तिमीले धावा वोलेका छौ । तिम्रो नाम जसरी शैक्षिक संस्थाहरुमा उच्च स्थानमा छ त्यो केवल तिम्रो एकल प्रयासले भएको छैन । तिमी संग हजारौ व्यक्तिहरु जोडिएका छन् । २०११ सालमा तिमीलाई शिक्षाको क्षेत्रमा पाईला टेकाउन यो समाजले सानो दुख गरेको छैन । तिमीलाई अम्वास देखि रक्षाचौर सम्म ल्याउन यो समाजले गरेको श्रम सानो हैन । यो समाजले बगाएको बहुमुल्य पसिना थोरै हैन । यो समाजले तिमीलाई हुर्काउन शरिरका विभिन्न अंगमा लगाएको चोट तिमी कसरी विर्सन सक्छौ ? तिमीलाई यहाँसम्मको नाम दिन यो समाजले गरेको दुख तिमीले छिनभरमै पूर्णविराम लगाउन आट गर्दैछौ ।

तिमी तिम्रो होइनौ,तिमी यो समाजको हौ त्यहि भएर त तिमी सामुदायिक विद्यालयको रुपमा परिचित छौ ।

तिम्रो पवित्र भूमिमा जे वितण्डा मच्चियो त्यसको जवाफ कसले दिने ? तिमीलाई तिम्रो उत्पादित जनशक्ति,तिम्रो आरोह अवरोहमा अहम भूमिका खेल्ने समाजका हरेक पात्रले तिमीलाई पलपल नियालिरहेका छन् । तिमी र तिम्रा सन्ततीहरु स्वतन्त्र छु जे गर्दा पनि हुन्छ भन्ने दम्भमा परेका छौ भने तिमी केवल भ्रममा छौे । चर्चित दार्शनिक रुसोले भनेका छन् “मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लो वाधिन्छ” । ठिक त्यसै गरी तिमी पनि यो समाजको ठुलो साङ्लोले वाधिएका छौ ।

शिक्षाको मन्दिर त्यो पनि जिल्लाकै उत्कृष्ट कहलिएको सामुदायिक बिद्यालयमा भएको यति सम्मको हर्कत अपाच्य छ । तिमीले हद पार गरेका छौ । तिम्रा शुभचिन्तकलाई लज्जीत बनाएका छौ । बिद्यालयको शैक्षिक,भौतिक,आर्थिक,बिद्यार्थी संख्या,नतिजा र शैक्षिक जनशक्ति लोभलाग्दो हुदाहुदै पनि बिद्यालयमा यस्तो घटना घट्नु दुखद हो । यस्ता क्रियाकलापमा सामेल हुने जोसुकै होस त्यो शिक्षा क्षेत्रको नालायक र गैर जिम्मेवार पात्र हो । सबै विद्यालय शान्ति क्षेत्र हुन् । यहाँ यस्ता अमानविय व्यवहार निन्दनिय छन् । तिमीले घटाएको घटनाको परिवेश र यथार्थता जे जुकै भए पनि त्यो सरासर गलत छ । विद्यालय क्षेत्रमा यस्ता घटना घटाउन उद्धत हुने जो जुकै पात्र सजायका भागेदार हुन । उक्त घटनाले म मात्र हैन गुरु जजुरका जन्मदाता,गुरुजजुरमा पढेका हजारौ विद्यार्थी,शिक्षक,अभिभावक,गुरु जजुर सङ्ग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा जोडिएका अनेकै ब्यक्ति तथा शिक्षा क्षेत्रमा आवद्ध भएका सबैलाई मर्माहत बनाएको छ । हजारौ व्यक्तिको संस्थाप्रतिको अथाह स्नेह र माया खल्बल्याउने दुश्साहस कसैले नगरोस र गुरुजजुरले चुमेको सफलतालाई शुन्यमा झार्ने प्रयास कोहि कसैबाट नहोस । यदि कसैले शिक्षा प्रदान गर्ने ठाँउमा यस्ता घृनित व्यवहार गर्छ भने त्यो भावी सन्ततीको नजरमा समेत कहिल्यै माथि उठ्न नसक्ने गरी शिक्षाको क्षेत्रबाट पतन हुने निश्चित प्राय छ ।

लेखक गुरु जजुर नमुना मा‍‌.विका पूर्व लेखापाल हुन् ।

लेखकको वारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/dhrubarajneupane.drn/