संकटमा ‘लुट्नु’ होइन ‘जुट्नु’ आवश्यक

चैत २४, २०७६


अर्थशास्त्री कौटिल्य बत्तिको उज्यालोमा केही लेख्दै थिए। अलि बेरपछि उनले बल्दै गरेको बत्ति निभाए र दोस्रो बत्ति बालेर लेख्न थाले। यो दृश्य नियालीरहेका उनका साथीले प्रश्न गरे, ‘हैन तपाईं अघि उज्यालोमा काम गर्दै हुनुहुन्थ्यो त, किन एउटा बत्ति निभाएर अर्को बाल्नुभयो र लेख्न थाल्नुभयो ?’ कौटिल्यले जवाफ दिए, ‘मित्र ! म पहिला राज्यको काम गर्दै थिएँ त्यसैले राज्यबाट प्राप्त सुविधास्वरूप मैले त्यो बत्ति बालेको थिएँ तर अहिले म  व्यक्तिगत काम गर्दै छु त्यसैले यसमा राज्यको सम्पत्ति प्रयोग गरिनँ।’

राष्ट्रप्रति कर्तव्यनिष्ठ व्यक्तिको भावनात्मक विचारको उदाहरण हो यो। यसले सिकाउँछ राष्ट्रियताको भावना र देशप्रतिको कर्तव्य। सेवामूलक भावना राखेर काम गर्ने राष्ट्रभक्तको सोच अनि व्यवहारमा राष्ट्रियताको सुगन्ध हुन्छ र तिनका विचारमा सन्देशमूलक अभिव्यक्ति प्रकट हुन्छ।

राज्यको सम्पत्तिमाथि आँखा लगाएर वैयक्तिक प्रयोजनका निमित्त कदम उठाउनेसँग राष्ट्रियता हुँदैन। व्यक्तिगत स्वार्थमा अल्झेर देश र जनताप्रति घात गर्ने राष्ट्रका दुश्मन हुन् जसका कारणबाट मुलुक सङ्कटग्रस्त रहन्छ।

भ्रष्टाचारको मुश्लोले देश डढेर खरानी बन्छ। सत्तामा पुगेर जनताको श्रम र करबाट उठेको पैसा खाएर रमाउने परजिवीबाट देश माथि उठ्दैन। भ्रष्टाचार देशको रोग हो जसले विकासलाई गतिहीन बनाउँछ र व्यक्ति मतिहीन बन्दै जान्छ। हामीकहाँ बारम्बार भ्रष्टाचार सम्बन्धी समाचार बाहिर आउँछन्।

योजनाबद्ध देखिएका घटनामा सम्बन्धित व्यक्तिहरू पनि निर्लज्ज अभिव्यक्ति प्रकट गर्छन्। नीतिगत भ्रष्टाचारतर्फ उक्लँदै गरेको सरकारले राज्यलाई कमजोर बनाउने कुरा निर्विवाद छ। हुन त भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा कानुनी संयन्त्रको अभाव रहेको पनि होइन बरु त्यस्ता खाले संयन्त्रको जागरुकता र सक्रियतामा भने कमी देखिन्छ। अझ विकराल समस्या त भ्रष्टाचार नियन्त्रणका लागि बनेका संस्थाहरूमै भ्रष्टाचारप्रतिको मोह देखिनु हो।

सामाजिक सञ्जालमा भ्रष्टाचार सम्बन्धित घटना दिनहुँ प्रसारित हुन्छन् र बारम्बार जनताले खबरदारी पनि गर्दै आएका छन्। तर शक्ति र सत्ताको आडमा बढिरहने बेइमानीले देशको अवस्था जटिल बन्दै गएको छ।

यतिबेला देश सङ्कटको घडीमा रहेको सबैलाई थाहा छ। महामारीको चपेटामा परेर धेरै मुलुकको अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा छ। कारुणिक र दारुण दृश्यका कारण मान्छेमा सुतेको मानवीय संवेदना जाग्दैछ  र असहज परिस्थितिको सामनाका लागि ऐक्यबद्ध भएर उभिनु पर्ने समय देखिन्छ। सर्वाधिक शक्तिशाली मानिएका मुलुक पनि कोभिड १९ को मारमा परेर अर्थतन्त्र ओरालो लाग्दो अवस्थामा पुगेका देखिन्छन्। तिनको अर्थतन्त्र र सामाजिक अवस्था कहाली लाग्दो भएको छ। हाम्रो जस्तो मुलुकमा त्यस प्रकारको विपत्ति बढ्दै जाने हो भने कति असहज परिस्थितिको सामना गर्नु पर्ला ? यस्तो विषम परिस्थितिमा पनि सरकार सम्बद्ध व्यक्तिबाट व्यक्तिगत फाइदाका लागि गलत कदम उठाउन खोजेका कुरा बाहिरिएका छन्। सरकारले यतिखेर पनि भ्रटाचारको आरोप खेप्नु परेको स्थिति दुर्भाग्यपूर्ण हुन जान्छ।

यो हल्ला निराधार हो भने भ्रमपूर्ण समाचार फैलाउनेबाट अनैतिक कार्य भएको ठहरिनु पर्दछ। होइन भने चीनबाट मेडिकल सम्बन्धित सामग्री खरिद प्रकरणले नागरिक समाजमा आक्रोश बढ्दै गएको समयमा सरकारी निकायबाट स्पष्ट अभिव्यक्ति प्रकट हुनु पर्दछ।  सबैतिरबाट सहयोगी हातहरू जुटाउने यो बेलामा राज्यको सम्पत्तिमाथि आँखा लगाएर वैयक्तिक स्वार्थको पछि दगुर्दै कर्तव्यपथमा भ्रष्ट आचरण देखाउनु मुढताको पराकाष्टा हो। मानवतावादी भावना प्रकट गर्दै सेवा र सहयोगमा जुट्नु पर्ने राष्ट्रभक्तका हातहरू मुनाफा र लाभमा लतपतिन थाले भने देश अझ सङ्कटग्रस्त बन्न पुग्छ।

तसर्थ जनअभिमतको अवमूल्यन नगरी सेवाभावले कर्म गर्ने सोच राख्नु आवश्यक छ। सबैका लागि सङ्कटको स्थिति रहेको यस समयमा नागरिक र सरकारको बीचमा कुनै पनि प्रकारको दुरी रहनु अस्वाभाविक ठहरिन्छ। यो विरोध र प्रतिवादको समय होइन। यो त सबैले आ-आफ्नो दायित्व पूरा गर्नु पर्ने बेला हो। यस्तो विषम परिस्थितिमा पनि सरकारले जनतालाई भ्रममा राखेर गलत कदम उठाउने काम नगरोस्।

नेताका भाषण र जनताको ताली मात्रले देश बन्दैन बरु यसमा सबैको कर्तव्य पालना र इमानदारिताको खाँचो पर्दछ। राष्ट्र ब्युँझाउनका लागि हरेकको भूमिका रहन्छ। सबैका आ-आफ्ना कर्तव्य छन्। नेताको आफ्नो कर्तव्य छ, जनताको आफ्नो कर्तव्य छ। सरकार जनताको हो र जनताकै लागि हुनु पर्छ। शासकीय मनोवृत्ति बोकेका सत्ताको उन्मादमा बद्नामीलाई ढाकछोप गर्न उद्यत नबनून्। देशको भलाइका लागि भन्दा पनि आफ्नो आर्थिक लाभका लागि पदासीन हुने परिपाटी नरोकिएसम्म देश उँभो लाग्दैन। यसर्थ सचेत र सक्षम नेतृत्व मुलुकका लागि आवश्यक छ। जसले भ्रष्टाचार नियन्त्रण गर्दै सेवामुखी भावले देश र जनताका निम्ति असल कदम उठाओस्।

अन्नपूर्ण पोष्टबाट