अमेरिकी उपराष्ट्रपतिद्धारा ‘सेल्फ क्वारेन्टाइन’मा बस्न अस्वीकार

बैशाख ३०, २०७७


अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले सेल्फ क्वारेन्टाइनमा नबस्ने बताएका छन् । उनले आफ्ना सहयोगीलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपनि सेल्फ क्वारेन्टाइनमा बस्न अस्वीकार गरेका हुन् ।

उपराष्ट्रपतिका प्रवक्ता डेभिन ओमाल्लीले उपराष्ट्रपति पेन्स क्वारेन्टाइनमा बस्ने कुनै योजना नरहेको र नियमित रुपमा आफ्नो काम गरिरहने जानकारी दिए । उपराष्ट्रपति पेन्सका एक जना सहयोगी तथा सञ्चार सचिव केट मिल्लरलाई कोरोनाभाइरसको सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।

सहयोगीलाई सङ्क्रमण भएकाले उपराष्ट्रपति पेन्सलाई पनि सङ्क्रमण भएको हुन सक्ने, नदेखिएको हुन सक्ने र उनीबाट अरुलाई पनि सर्न सक्ने भएकाले उनी सेल्फ क्वारेन्टाइनमा बस्नु उपयुक्त हुने सुझाव धेरैले दिएका थिए । तर उनले भने आफु नियमितरुपमा कार्यालय जाने, काम गर्ने र आफ्नै कार्यालयको स्वास्थ्य ईकाइसँग निरन्तर परामर्शमा रहने जानकारी दिए ।

उपराष्ट्रपति पेन्सका अर्का एक सहयोगीले पहिलाभन्दा केही सतर्कता अपनाउने तर पूर्ण रुपमा सेल्फ क्वारेन्टाइनमा भने नबस्ने निर्णय भएको बताएका छन् ।