आकाशसँग लभ गर्छु र बिहे गर्छु भनेर कहिल्यै सोचिनँ:पूजा शर्मा

असार १४, २०७८


अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ नेपाली दर्शकले निकै रुचाएको जोडी हो । फिल्म ‘रामकहानी’ मा उनीहरुले पहिलो पटक स्क्रिन शेयर गरेका थिए । फिल्म बक्सअफिसमा औसत चले पनि उनीहरुको जोडी दर्शकको ‘फेभरेट’ बन्यो । यसपछि यी दुईले ‘सम्हालिन्छ कहिले मन, पोइ पर्‍यो काले, सम्झना विर्सना’ फिल्ममा एकसाथ काम गरे । साथमा म्यूजिक भिडियो पनि ।

पूजा जुन फिल्ममा जो अभिनेतासँग स्क्रिन शेयर गर्छिन्, उसैसँग उनको नाम जोडिने गरेको छ । पलबाहेक अरु अभिनेतासँग एकभन्दा बढी फिल्ममा काम नगरेकी उनले आकाशसँग चार फिल्ममा एकसाथ काम गरेपछि बजारमा उनीहरुको प्रेम चर्चा चल्न थालेको थियो । जहाँ जाँदा पनि आकाशले पूजाको साथ छाड्दैन थिए । पूजा पनि आकाशसँग आफूलाई ‘कम्फर्ट’ महशुस गर्थिन् ।

फिल्मवृतमा उनीहरुले विवाह गर्न लागेको चर्चा समेत चलेको थियो । तर, पूजा र आकाशले कहिल्यै प्रेम सम्बन्ध नै स्वीकार गरेनन् । केही कुरामा चित्त दुख्दा दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गर्थे । हप्तौंसम्म बोलचाल हुँदैन थियो । तर, फेरि उनीहरुबीच मिलन भइहाल्थ्यो । एकसाथ अन्तर्वार्ता दिँदा दुवैले कयौं पटक भनेका छन्, ‘यो मित्रताको अन्त्य कहिल्यै हुँदैन ।

तर, अब यो जोडी अलग भएको छ । गत वर्ष लकडाउनको समयमा प्रकाश सुवेदीले ‘रजतपट’ कार्यक्रममा पूजालाई लक्षित गर्दै एउटा अभिव्यक्ति दिएका थिए, जसका कारण दुईबीच पानी बाराबारको सम्बन्ध छ । तर, उनका विश्वासका पात्र आकाशले भने उनै प्रकाशसँग हात मिलाएका छन् । जसका कारण अब यी दुईको व्यवसायिक र व्यक्तिगत सम्बन्धमा पूर्णविराम लागेको छ ।

गएको हप्ता रजतपट टिमले राजधानीको एक बाल गृहमा खाना खुवाउने कार्यक्रममा आकाश सहभागी भएका थिए । जुन व्यक्तिबाट आफूले नराम्रो शब्द सुन्न परेको थियो, उसैको नेतृत्वमा सुरु भएको अभियानमा आकाश जोडिँदा पूजा आहत भएकी छन् । उनलाई महशुस भएको छ, आकाशसँग त व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ । एकतर्फी मित्रता मात्र रहेछ ।

हालै एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘फोटो देखेपछि म जसरी विवादको बेला तर्सिएको थिएँ, उसैगरी तर्सिएँ । मलाई त्यो घटनाले टर्चर नै भएको थियो । तर, आकाशले त्यो पनि नसोचेको देखेपछि मेरो एकतर्फी मित्रता रहेछ भन्ने महशुस भयो । ऊ सँग व्यवसायिक सम्बन्ध मात्र रहेछ । म ६ महिना रोएको उसले देखेको छ । त्यो देखेर पनि आकाश त्यहाँ जाँदा मन दुखिहाल्छ नी ।

आकाशसँग आफ्नो कहिल्यै प्रेम सम्बन्ध नभएको पनि उनले स्पष्ट पारेकी छन् । उनी भन्छिन्, ‘हामी असल साथी हौं । आज पनि र भोली पनि । एकसाथ धेरै फिल्म र म्यूजिक भिडियोमा काम गरेकाले म ऊसँग अलि बढी नजिक छु । तर, हामीबीच कहिल्यै प्रेम सम्बन्ध थिइनँ । दर्शकले हाम्रो जोडी चाहिँ मन पराउनु भएको हो । तर, आकाशसँग लभ गर्छु र बिहे गर्छु भनेर कहिल्यै सोचिनँ ।

उनले आकाशसँग आफ्नो स्वभाव पनि नमिल्ने बताएकी छन् । ‘ऊ कम बोल्छ, म धेरै बोल्छु । उसको रिजर्भ बस्ने बानी छ, म मनमा लागेका कुरा भलिहाल्छु । सँगै काम गर्दा र साथीको रुपमा हामी ठिक छौं तर पर्सनल लाइभमा प्रेम र विवाहको बारेमा सोचेकै छैन, उनले भनिन् । एक अन्तर्वार्तामा आकाशले आफ्नो कुनै टिम छैन भनेकोप्रति पनि पूजाले चित्त दुखाएकी छन् ।