प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

मङि्सर ०१, २०७८


मंसिर १, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परे । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले हाल कायम रहेका प्रदेशसभा सदस्यको बहुमत भएको र विश्वासको मत पाएको भनी घोषणा गरे ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये मतदानमा ७९ सांसद उपस्थित भएका थिए। मुख्यमन्त्री राईलाई उनकै पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मत दिएका थिए । कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकजनाले उनलाई विश्वासको मत दिएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने विपक्षमा उभिएको छ । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ गते नयाँ सरकार गठन गरिएको थियो ।