पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिने ओली तयार, बादल उपाध्यक्ष र रायमाझी सचिव

मङि्सर १२, २०७८


मंसिर १२, नेकपा एमालेमा आएका पूर्वमाओवादी पक्षधरले जारी महाधिवेशनबाट दुई पदाधिकारी मात्र पाउने भएको छ । पूर्वमाओवादी पक्षका नेताहरुसँग अध्यक्ष केपी शर्मा ओलीले गरेको छलफलबाट २ पदाधिकारी र ४० केन्द्रीय सदस्य पाउने सहमति भएको हो । यसअघि पूर्वमाओवादी समूहले तीन पदाधिकारी दाबी गर्दै आएको थियो । उपाध्यक्ष, उपमहासचिव र सचिवमा एकएक जना पदाधिकारी पाउनुपर्ने दाबी पूर्वमाओवादी समूहको थियो ।

पदाधिकारी र केन्द्रीय सदस्यका बारेमा छलफल गर्नका लागि पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाह ओलीलाई भेट्न पुगेका थिए । भेटमा ओलीले दुई जनालाई पदाधिकारी २ जना स्थायी समिति र ४० जना केन्द्रीय समिति दिन सकिने निष्कर्ष निकालेका हुन् । पूर्वमाओवादी पक्षबाट रामबहादुर थापा बादलले उपाध्यक्ष, टोपबहादुर रायमाझीले उपमहासचिव र लेखराज भट्टले सचिव दाबी गर्दै आएका छन् ।