कांग्रेसको दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

मङि्सर १२, २०७८


मंसिर १२, नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकर प्रसाद डाँगी निर्वाचित भएका छन् । शनिबार जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा चार जनाले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार शंकर र भुपबहादुर डाँगीबीच आइतबार दोस्रो चरणको निर्वाचन गर्ने तयारी थियो ।

तर सहमतिको आधारमा शंकर जिल्ला सभापति चुनिएका हुन । शनिबार भएको पहिलो चरणको निर्वाचनमा शंकर प्रसाद डाँगीले ७७६ उनका निकटतम प्रतिस्पर्धी भुप बहादुर डाँगीले ५४५ यसैगरी जानकी लाल बस्नेत ले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा दुई हजार १३८ मत खसेको थियो ।

आइतबार दोस्रो चरणको निर्वाचनको तयारी भइरहेको बेला भूप बहादुर डाँगी ले शंकर प्रसाद डाँगीलाई सभापतिमा समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएपछि शंकर प्रसाद डाँगी सभापति चुनिएको घोषणा गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन् ।