‘प्रकाश’ रिलिज घोषणा, प्रदीपको भिन्न लुक्स

फागुन २७, २०७८


अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर बिहीवार फिल्म ‘प्रकाश’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के मात्र प्रस्तुत छन् । भिन्न लुक्समा देखिएका उनीहरु फिल्ममा आमा र छोराको भूमिकामा हुनसक्ने पोस्टरबाट बुझ्न सकिन्छ ।

सार्वजनिक पोस्टरमा सामान्य खालको पुरानो सट लगाएर देखिएका प्रदीपले शिरमा सेतो रंगको टोपी र छातीमा राष्ट्रिय प्रजातन्त्र पार्टी लेखिएको कालो झोला भिरेका छन् । झोला ठाउँ-ठाउँमा सिलाइएको छ । प्रदीप यस प्रकारको गेटअपमा पहिलो पटक देखिएका हुन् । त्यस्तै, दीयाले ऊनको पछ्यौरीले टाउको ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुलाकी लगाएकी छन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ । डेब्यू फिल्मदेखि नै लभर ब्वाईको भूमिकामा देखिँदै आएका प्रदीप ‘प्रकाश’मा आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएका छन् । उनको लुक्स हेर्दा फिल्ममा उनले चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको अनुमान गर्न सकिन्छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रदीप र दीया सँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।