मन्त्रिमण्डल हेरफेरको सम्भावना छ : प्रचण्ड

चैत ०८, २०७८


चैत ८, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको बताएका छन् । जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिमण्डल हेरफेरको कुरा भएपनि औपचारिक रुपमा निर्णय नभइसकेको बताएका हुन् । मन्त्रिपरिषद्मा हेरफेरको कुरा त चलेको छ ।

औपचारिक ढंगले टुंगिएको भने छैन, सम्भावना चाहीँ छ, पत्रकारहरुसँग प्रचण्डले भने, केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि रहन्छ । केही नयाँ आउने सम्भावना पनि छ । प्रचण्डले मन्त्रिमण्डल हेरफेर भएको अवस्थामा माओवादी केन्द्रले हैसियतअनुसारको मन्त्रालय माग्ने बताएका छन् । उनले गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको बताउँदै अब हेरफेर हुने मन्त्रिमण्डलमा सोही अनुसारको मन्त्रालय पाउनुपर्ने बताएका छन् ।

यसमा प्रधानमन्त्री देउवा पनि सहमत रहेको उनले बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले चुनावी परिणामका लागि गठबन्धन नगरेको बताएका छन् । माओवादी केन्द्र आफ्नै तागतमा चुनावमा लड्छ, हेर्नुभयो भने त्यहीअनुसारको अभियान पनि चलिरहेको छ, उनले भने । यद्यपि गठबन्धनलाई पनि संगै लैजानुपर्ने कुरामा सहमत रहेको बताए ।