स्कटल्याण्ड बिरुद्ध नेपालको शानदार जित, नेपाल प्वाइन्ट टेबलको पाँचौ स्थानमा उक्लियो

असार २९, २०७९


घरेलु टिम स्कटल्याण्ड बिरुद्ध ५ विकेटको जित दर्ता गर्दै नेपाल आईसीसी विश्वकप लिग-२ अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ।

ग्लासगोमा सम्पन्न खेलमा स्कटल्याण्डले दिएको १४५ रनको लक्ष नेपालले ५ विकेट क्षतिमा भेटायो। स्कटल्याण्ड बिरुद्ध लिस्ट ए र एकदिवसीय अन्तर्राष्ट्रिय यो नेपालको पहिलो जित हो।

नेपालको ब्याटिंगमा ओपनर आसिफ शेखले सर्वाधिक ७१ रन योगदान दिए। चौंथो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे। रोहित पौडेलले अविजित ३४, कुशल भुर्तेलले २७ रन योगदान दिए।

आसिफले कुशल भुर्तेलसंग ४७ रनको ओपनिंग साझेदारी गरे। यस्तै दोश्रो विकेटको लागि देव खनालसंग ३० रन तथा तेश्रो विकेटको लागि रोहित पौडेलसंग ४८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। उनि २१ औ ओभरमा गेभीन मेनबाट क्याच आउट भए। त्यसलगत्तै दिपेन्द्र ऐरी ३ र आरिफ शेख १ रन बनाएर आउट भएता पनि रोहित पौडेलले एक किनार सम्हाल्दै टिमलाई जित दिलाए।

स्कटल्याण्ड बलर गेभिन मेनले ३ विकेट तथा एड्रीएन निल र रिची बेरिंगटनले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको स्कटल्याण्डले ४२.४ ओभरमा १४४ रनमा सबै विकेट गुमाएको थियो।

स्कटल्याण्डको लागि नवौं नम्बरमा ब्याटिंग गरेका गेभीन मेनले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाउने क्रममा सर्वाधिक ६४ रन बनाए। अविजित रहेका उनले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। मार्क वाटले १७, सफ्यान सरिफले १६ तथा कलुम म्याकलोएडले १३ रन बनाए।

खराब सुरुवात गरेको स्कटल्याण्डले ३३ रन बनाउदा सुरुवाती ५ विकेट गुमायो। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानहरुले टिक्ने प्रयास गरेता पनि नेपालले नियमित अन्तरलमा विकेट लियो। ९५ रनमा ९ विकेट गुमेको अवस्थाबाट गेभिन मेनले दशौँ विकेटको लागि हम्जा ताहिरसंग ४९ रनको साझेदारी गरे। ४३ औं ओभरमा दिपेन्द्र ऐरीले उक्त साझेदारी तोड्दै नेपाललाई राहत दिलाए। यो साझेदारी नेपाल बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ विकेटको लागि हालसम्मकै सर्वाधिक साझेदारी हो।

नेपालको बलिंगमा सोमपाल कामि र आदील आलमले समान ३/ ३ विकेट लिए जुन क्रममा सोमपालले १० ओभरमा ४० तथा आदीलले १० ओभरमा ३१ रन खर्चिए। कप्तान सन्दिप लामिछानेले २ तथा करन केसी र दिपेन्द्र ऐरीले १/१ विकेट लिए।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासंग ४० रनले पराजित भएको थियो। सिरिज अन्तर्गत नेपालले तेश्रो खेल नामिबियासंग शनिवार खेल्नेछ।