सांसद बन्ने रेखाको सपनामा ‘ब्रेक’

मङि्सर ०९, २०७९


यसपटकको सङ्घीय निर्वाचनमा विभिन्न पार्टीबाट कलाकारहरु पनि उम्मेदवार बनेका थिए । तर, लुम्बिनी प्रदेशसभामा निर्माता रोज राणा र बागमती प्रदेशसभामा कलाकार तथा निर्माता मदुकुमार श्रेष्ठबाहेक अरुले जित निकाल्न सकेका छैनन् । गायिका तथा अभिनेत्री कोमल वली प्रतिनिधिसभा सदस्यमा पराजित भइसकेकी छन् भने अभिनेत्री रेखा थापाको पनि हार निश्चित बनेको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उठेकी रेखालाई चुनावअघिसम्म जित्न सक्ने बलियो उम्मेदवारको रुपमा लिइएको थियो । चुनावी कार्यक्रममा उनीप्रति त्यहाँका जनताको आकर्षण लोभलाग्दो देखिएको थियो । मिडियाले समेत रेखाको पक्षमा गजबको माहोल बनेको भन्दै ठूलो चर्चा गरेका थिए । तर, मतपरिणामले भने उनी कमजोर उम्मेदवार प्रमाणित गरेको छ ।

मत गणनाको सुरुदेखि तेस्रो स्थानमै खुम्चिएकी रेखाले ८२ हजार ४७८ मत गणना भएर अब १४ हजार ८९९ मात्र मत गन्न बाँकी हुँदा जम्मा ९ हजार ४८९ प्राप्त गरेकी छन् । अब गन्न बाँकी सबै मत उनकै पक्षमा झिरे पनि जित सम्भव छैन । यो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले सानदार जित निकाल्दैछन् । उनले अहिलेसम्म ४१ हजार २६८ मत प्राप्त गरिसकेका छन् ।

तत्कालीन नेकपा माओवादीबाट राजनीतिमा होमिएकी रेखा पछि राजतन्त्र पूर्नस्थापनाको वकालत गर्ने राप्रपामा समाहित भएकी थिइन् । गत वर्ष राप्रपाको महाधिवेशनमा उनी महामन्त्री पदमा उठेकी थिइन् तर पराजित भइन् । अब उनको सांसद बन्न सपनामा पनि ‘ब्रेक’ लागेको छ । राजनीतिमा ठूलो उतार-चढावको सामना गरिरहेकी रेखा थापा फिल्ममा भने अत्यन्त सफल मानिन्छिन् ।