‘भगवत् गीता’ मा धिरज मगर फाइनल

मङि्सर २६, २०७९


फिल्म ‘भगवत् गीता’ बाट अफर गएको केही दिनमै नायक धिरज मगरले गरेको महंगो पारिश्रमिक डिमाण्डले निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापालाई मात्र होइन नायिका सुहाना थापालाई समेत अचम्मित बनाएको थियो । धिरजको खुलेरै प्रशंसा गर्ने सुहानाले त्यसपछि भने उनको बिषयमा खासै सुन्न चाहेकी थिइनन् । निर्माता सुनिल कुमार थापा यो बिषयमा केही लचिलो भएपनि सुहाना र झरना धिरजको महंगो पारिश्रमिक मागबाट रिसाएका थिए ।

यसकारण, सुहाना थापा इन्टरटेन्मेन्टमा धिरजको च्याप्टर क्लोज भएको थियो । झरना र सुनिलले फिल्मका लागि अन्य नायकको खोजी गरिरहेका थिए । तर, विविध कुराले काम अगाडि बढ्न सकिरहेको थिएन । केही हप्ता अगाडि कम्पनीले कलाकारको खोजी गर्दै अडिसन आह्वान गरेको थियो । तर, अचानक आइतबार ‘भगवत् गीता’ मा धिरज अनुबन्धित भएको खबर सार्वजनिक भयो ।

विशेषगरि, फिल्म ‘बाबरी’ असफल भएपछि धिरज पनि केही हदसम्म संझौतता गर्न तयार भएको देखिन्छ भने नायक नपाएर हैरान भएको अवस्थामा सुहाना पनि धिरजसँग काम गर्न तयार भएको देखिन्छ । धिरजका कारण फिल्मको कथा जनकपुरबाट मनाङ पुगेको छ । पहिले फिल्मको कथा जनकपुरबाट दार्चुलासम्मको थियो । फिल्मका अर्का एक जना नायक पनि हुनेछन् । केही दिनमै नयाँ नायक सार्वजनिक गर्ने तयारी सुहाना इन्टरटेन्मेन्टको छ ।

सुनिलका अनुसार, फिल्मको छायांकन पौष २० वा माघको १ गतेबाट सुरु हुनेछ । यसैले, पनि ‘भगवत् गीता’ बैशाखको १ गते रिलिज गर्न अब केही हदसम्म अप्ठ्यारो हुने देखिएको छ । निर्माणपक्ष अहिले नै बैशाख १ गतेबाट सरेको घोषणा गर्न तयार छैन । तर, छायांकन सुरु भएपछि नयाँ मिति घोषणा हुने सक्ने श्रोतले बताएको छ ।