फिल्म नचल्नुको दोष के कलाकारको मात्र हो ?

माघ १०, २०७९


नेपालमा प्रत्येक वर्ष सयको आसपासमा फिल्म बन्छन् र लगभग त्यही अनुरुपमा रिलिज हन्छन् । त्यसमध्ये आधा दर्जन फिल्मले लगानी सुरक्षित गरेर अर्को फिल्म बनाउन पैसा उठाइदिन्छन् । ४ र ५ वटा फिल्मले जेनतेन लगानी उठाउँछन् । बाँकी ८०र८५ वटा फिल्मले पोस्टर छपाईको पैसा पनि उठाउँदैनन् । यो विगत एक दशकयताको चित्र हो । हुन त बलिउडमा पनि यही अवस्था छ । यस वर्ष नेपाली फिल्मको अवस्था केही सुधारन्मुख देखिएको छ ।

गत बैशाखदेखि कात्तिकसम्म ३ वटा फिल्मले लगानी उठाए भने ५ वटा फिल्मले निर्मातालाई करोडपति बनाए । अबको चैतसम्म थप २र३ वटा फिल्म हिट हुनसक्ने प्रक्षेपण गरिएको छ । यसरी हेर्दा यो वर्षको विदाई सुखद् नै हुने देखिन्छ । तर, यो भनिरहँदा केही नेपाली फिल्मले बेहोरेको कहानीलाग्दो नतिजा विर्सनु हुन्न । गत पुषमा प्रदर्शनमा आएका दुई आशातित फिल्म ‘डिसेम्बर फल्स’ र ‘तिम्रो मेरो साथ’को व्यवसायिक नतिजाले फिल्म क्षेत्रलाई नै स्तब्ध बनाएको छ । यसको कारण हो, यी दुवै फिल्ममा नाम चलेका कलाकार थिए । प्रचार तगडा थियो । हलहरु पर्याप्त पाएका थिए । तर, हलमा यस्तो अवस्था रह्यो कि दर्शक नहुँदा कति शो क्यान्सिल भए । दुवै फिल्मको आयू हलमा मात्र एक हप्ता रह्यो ।

फिल्म नचलेपछि दोष कलाकारमाथि थोपर्ने चलन छ । ‘डिसेम्बर फल्स’ र ‘तिम्रो मेरो साथ’को हकमा पनि यही भयो । ‘डिसेम्बर फल्स’मा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अभिनय थियो भने ‘तिम्रो मेरो साथ’लाई साम्राज्ञी आरएल शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीले काँधमा बोकेका थिए । दुवै फिल्मको एक शो पनि हाउसफुल नहुँदा कलाकारको स्टारडममाथि औंला उठेको छ । आर्यनको स्टारडम सकिएको, उपासनासँग दर्शक तान्ने स्टारडम नभएको, साम्राज्ञीको स्टारडम खस्किएको, पुष्पको स्टारडम नै नभएको भन्ने खालका टिप्पणी भैरहेका छन् । सबैभन्दा बढी प्रहार साम्राज्ञीमाथि भएको देखिन्छ । उनले बुझ्ने पारिश्रमिकअनुरुप स्टारडम नै नभएको भन्दै मिडियाले समेत खिसिटिउरी गरिरहेको छ । तर, के फिल्म चलाउने ग्यारेन्टी सिर्फ कलाकारले गर्ने हो ?

वर्षौंदेखि चल्दै आएको बहस के हो भने फिल्म स्टारकास्टले होइन कन्टेन्टले चल्छ । कन्टेन्टमाथि नै खर्च गरिनुपर्छ । तर, एकाध मेकरबाहेकलाई कन्टेन्टभन्दा कलाकारको स्टारडममाथि भरोसा छ । अनि, दुईरचारवटा फिल्म चलेका कलाकारमाथि मोलभाउ सुरु हुन्छ । पारिश्रमिक निर्माताले नै चर्को बनाउँछन् । जब कलाकारमाथि विश्वास गरेर फिल्म बनाइन्छ भने दोष कसको हुन्छ ? कलाकारहरु पनि आफ्नो मार्केट भ्यालू बुझ्न सक्दैनन् । फेसबुक, ट्विटर र इन्स्टाग्रामको फलोअर्स, युट्युबमा भ्यूज र सार्वजनिक ठाउँमा जाँदा लाग्ने भीड हेरेर स्वःघोषित स्टार बन्छन् । आफूले कति पारिश्रमिक लिँदा ठीक हुन्छ भन्ने आत्ममुल्यांकन नै छैन । अर्को कलाकारभन्दा बढी पारिश्रमिक कसरी लिने, यही सोच मात्र हाबी छ । कथावस्तु, चरित्रप्रतिको बुझाई कमै कलाकारमा छ ।

जबसम्म कलाकार पारिश्रमिकभन्दा माथि उठेर कामप्रति जिम्मेवार हुँदैनन् र जबसम्म मेकर कलाकारभन्दा कन्टेन्टमाथि विश्वास गर्दैनन्, तबसम्म फिल्म नचल्नुको दोष एकअर्कालाई दिएर आफू दूधले नुहाएको देखाउने होड रोकिनेवाला छैन । बलिउडले बल्ल बुझ्दैछ, स्टारभन्दा कन्टेन्टमाथिको लगानीले मात्र प्रतिफल दिन्छ । र, यो बुझाई नेपाली मेकरमा पनि अब पलाउन आवश्यक छ ।