फिल्म समिक्षा : ‘ह्यारी कि प्यारी’ ?

माघ २३, २०७९


एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्म निर्माण गरेका डा.भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशनमा डेब्यू गरेको फिल्म हो, ‘ह्यारी कि प्यारी’ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्ममा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी आरएल शाह केन्द्रीय भूमिकामा छन् । परिवार नै चिकित्सा पेशामा आबद्ध भएकाले डा. रिजालले आफ्नो डेब्यू फिल्ममा डाक्टर र अस्पताललाई कुनै न कुनै रुपमा जोडेका छन् ।

जेनी साम्राज्ञी आमा बुबाले खडा गरेको अस्पतालको प्रमुख छिन् । उनी डाक्टर पनि हुन् । आमा-बुबाको निधनपछि उनी हजुरआमा सरला रिजाल को सहारामा हुर्किइन् । उमेर बढेसँगै हजुरआमाले विवाहका लागि दबाव दिन थाल्छिन् । तर, जेनी हजुरआमालाई छाडेर विवाह गर्न तयार छैनन् ।

यस्तै दबावमा छन्, हरि उर्फ ह्यारी जितु । उसलाई गाउँमा स्वास्थ्य चौकी बनाउनु छ । तर, खर्च जुटेको छैन । चिया पसलदेखि चौतारासम्म दानपेटिका राखेको छ, तर कसैले सहयोग गरेका छैनन् । स्वास्थ्य चौकी बनाउने सपना पूरा गर्न ऊ पुर्ख्यौली जग्गा बेच्न समेत तयार हुन्छ । तर, हजुरआमा लक्ष्मी गिरीले विवाह गरेपछि मात्र हरिले जग्गा बेच्न पाउने गरी कागज बनाउँछिन् ।

उता हजुरआमाबाट विवाहको दबाव खेपिरहेकी जेनी र गाउँमा स्वास्थ्य चौकी बनाउन जुनसुकै मुल्य चुकाउन तयार हरि कसरी एकअर्कासँग ठाकिन्छन् र के-कस्ता उतारचढाव आउँछन् भन्नेमा फिल्मले २ घन्टा १५ मिनेट फन्को मारेको छ । तर, मध्यान्तर अघि फिल्मको गति अत्यन्त धिमी छ । चरित्र स्थापित गर्न लम्बेतान दृश्य राखिएका छन्, जसमा दर्शक हँसाउने ध्येय पनि छ तर सफल छैन ।

राम्ररी प्लटको विकास नहुँदा मध्यान्तर अघिसम्मको अवधि फिल्म कम सिरियल बढी लाग्छ । पटकथा कमजोर हुँदा यस्तो समस्या आउने गर्छ । मध्यान्तरपछिको करिब १५/२० मिनेटको अवधि भने तुलनात्मक रुपमा राम्रो छ । जेनी हरिको घरमा भित्रन आउँदा र काठमाडौं नफर्कदासम्मको दृश्य इमोसनल छन् । तर, पटकथा लेखनमा मिहिनेत नपुगेको यहाँ पनि महसूस हुन्छ । पर्दामा पात्र भावुक हुँदा दर्शकको मन हुडल्दैन भने त्यो दृश्यको सान्दर्भिकता रहँदैन । फिल्मभित्र यस्ता केही इमोसनल दृश्य छन्, जहाँ पात्र त भावुक हुन्छन् तर हेर्नेको मन छुँदैन ।

फिल्मको क्लाइमेक्स नाटकीय छ । क्लाइमेक्स परिवर्तन गर्न सकेको भए मध्यान्तरपछिको पार्टलाई मध्यमसम्म मान्न सकिन्थ्यो । तर, क्लाइमेक्समा भएको कमजोरीले फिल्मलाई नै कमजोर बनाएको छ । सुदीप बरालको छायांकन औसत छ । सम्पादन हतारमा गरेको भान हुन्छ । ब्याकग्राउन्ड म्यूजिक कर्कशपूर्ण छ । कथाको भावअनुरुप ब्याकग्राउन्ड म्यूजिक बग्न सकेको छैन ।

फिल्ममा तीनवटा गीत छन्, जसमा ‘दम दम’ र ‘धरहरा हल्लियो’ गीत अनावश्यक रुपमा प्रयोग गरिएको देखिन्छ । न कथासँग कुनै तालमेल छ न कथावाचनमा भूमिका खेलेको छ । अर्को गीत ‘मीठो मीठो’ भने सान्दर्भिक छ । यो गीतले कथालाई अगाडि बढाउन ठूलो मद्दत गरेको छ ।

कमेडी भूमिकामा जमेका जितुले यो फिल्ममा गम्भीर भूमिकामा अभिनय गरेका छन् । यो उनले करिअरमाथि नै लिएको ठूलो ‘रिक्स’ हो । तर, गम्भीर भूमिकामा उनी जम्न सकेको देखिन्न । उनी भावुक हुँदाको दृश्य तरकारीमा नुन नपुगेको जस्तो लाग्छ । उनको अभिनयलाई मध्यम मान्न सकिन्छ । हुन त पटकथा नै कमजोर भएपछि त्यसको असर कलाकारको अभिनयमा पर्ने भैहाल्यो ।

हरि गाउँमा कसैलाई समस्या पर्‍यो भने सबैभन्दा अगाडि सर्छ । आफैं खर्चको जोह गर्छ र गाउँलेको उपचार गर्छ । उपचारको अभावमा कोही सुत्केरी महिलाको मृत्यु नहोस् भनेर उसले गाउँमा स्वास्थ्य चौकी बनाउनका लागि पैसा जुटाइरहेको छ । तर, आँगनमा एम्बुलेन्स पुग्ने गाउँमा स्वास्थ्य चौकी समेत नभएको भनेर जसरी देखाइएको छ, त्यो कहिँ कतैबाट पनि स्वभाविक लाग्दैन ।

त्यस्तै, साम्राज्ञीले निर्वाह गरेको चरित्रमा नयाँपन छैन । न त अभिनयमा नै निखारता छ । यद्यपि, जुन चरित्र उनले पाएकी छन्, त्यो सुहाउँदो छ । जितु र साम्राज्ञीको केमेस्ट्री भने चाखलाग्दो छ । हरिको काकाको भूमिका निर्वाह गरेका जिते विजय बरालमा ‘कबड्डी’ का विकेको झल्को आउँछ । फरक यति छ कि ‘कबड्डी’ मा उनी दयाहाङ राईको दाहिने हात थिए भने ‘ह्यारी कि प्यारी’ मा जितुको । उनलाई हँसाउनकै खातिर राखिएको छ । केही दृश्यमा उनको हाउभाउ र संवादले हँसाउँछ पनि । तर, कथालाई अगाडि बढाउन उनको भूमिका छैन ।

फिल्ममा साम्राज्ञीकी हजुरआमाको भूमिकामा रहेकी सरला रिजालको अभिनय स्वभाविक लाग्दैन । गौरी मल्लले डबिङ गरेका कारण डाइलग डेलिभरीमा समस्या नभए पनि अभिनयसँग त्यसको तालमेल छैन । संवादले एउटा भाव बोल्दा सरलाको अभिनय अर्को गतिमा बगेको छ । कलाकार लक्ष्मी गिरीको अभिनय भने राम्रो छ ।

डा. रिजालको डेब्यू निर्देशन भएकाले फिल्ममा भएका कमी-कमजोरीमा उनलाई छुट दिन सकिन्छ । तर, आगामी दिनमा उनीबाट योभन्दा स्तरीय फिल्मको अपेक्षा रहनेछ । नेपाली फिल्मलाई माया गर्नुपर्छ भन्ने लाग्छ भने एकपटक ‘ह्यारी कि प्यारी’ हेर्दा ठीकै होला । नयाँपन खोज्ने हो भने फिल्मले निराश बनाउन सक्छ ।