अदालतको आदेशपछि हलमा नयाँ भारतीय फिल्म, ‘परस्त्री’ पनि रिलिज

असार १४, २०८०


असार १४, ‘आदिपुरुष’ विवादपछि दर्शकको उपस्थिति शून्यप्रायः रहेको नेपाली हलमा यो साता तीन नयाँ फिल्म आउनेछन । बिहीबारदेखि नेपाली फिल्म ‘परस्त्री’ र भारतीय ‘सत्यप्रेमकी कथा’ ले प्रदर्शन थालेका छन् ।शुक्रबार हलिउडको प्रतीक्षित ‘इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ प्रदर्शनको तयारीमा छ । ‘सत्यप्रेमकी कथा’ पाटन उच्च अदालतको आदेशपछि प्रदर्शन हुने पहिलो भारतीय फिल्म हुनेछ ।

१२० मिनेट लामो ‘परस्त्री’ विवाहेत्तर सम्बन्धको कथावस्तुमा बनेको बदलाको कथावस्तु हो । पीजी सर्टिफिकेट प्राप्त गरेको यो फिल्मले दम्पतीको जीवनमा तेस्रो व्यक्तिको प्रवेशपछि सम्बन्धमा आउने उतारचढावको कथा भन्छ । शिल्पा मास्के, गौरव विष्ट र कोसिस क्षेत्रीको शीर्ष भूमिका रहेको फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । साइकोलोजिकल थ्रिलर जनरामा राखिएको यो फिल्म सोही मितिमा भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ ।

१४७ मिनेट लामो ‘सत्यप्रेमकी कथा’ मा कार्तिक आर्यन र कियारा आडवाणीको शीर्ष भूमिका छ । समीर विद्धान्स निर्देशित फिल्मलाई कमेडी ड्रामा जनरामा राखिएको छ । शुक्रबार ह्यारिसन फर्ड स्टारर हलिउडको एक्सन एड्भेन्चर फिल्म ‘इण्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी’ रिलिज हुँदैछ । इन्डियाना जोन्स फेन्चाइजीको यो पाँचौं र अन्तिम सिक्वेल रहेको जनाइएको छ ।