हिँड्दा हिँड्दै’ टिजरमा आकाश र रेखाको प्रेम-विछोड

असार २९, २०८०


आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हिँड्दा हिँड्दै’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको ट्रेलरमा प्रेम, विछोड, रोदन र द्वन्द्वलाई स्थान दिइएको छ । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको टिजरले संकेत गर्छ । टिजरमा अभिनेता सलोन बस्नेतलाई भने रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

कोरोना महामारीको समयमा छायांकन भएको फिल्ममा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्ग लगायतको पनि अभिनय छ । मिलन आले मगरको निर्देशन रहेको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् । त्यस्तै, प्रमोद कुमार तामाङ र महादेश शाह फिल्मको सह-निर्माता हुन् ।

फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । आकाशलाई ‘हिँड्दा हिँड्दै’ बक्स अफिसमा सफल हुनैपर्ने दबाब छ । किनभने, उनका गत वर्ष ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ असफल भएका थिए ।