मंसिर १ देखि नयाँ फिल्मको छायांकन गर्दै दीपकराज गिरी, निर्देशन दीपाश्रीले गर्ने

साउन ०८, २०८०


‘छक्कापञ्जा ४’ पछि निर्माता तथा अभिनेता दीपकराज गिरी नयाँ फिल्मको तयारीमा छन् । केही फिल्मको ‘लाइनअप’ का लागि काम भइरहेको छ । तर भदौ देखि मल्टिप्लेक्स हल सञ्चालन गर्नुपर्ने र त्यसपछि चाडपर्वको सिजन आउने भएकाले दीपकलाई नयाँ फिल्मको छायांकन गर्न सकस छ ।

यसैबीच, उनको होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट बन्ने आगामी फिल्मको छायांकन मंसिर १ गतेदेखि थाल्ने तयारी छ । जुन फिल्मलाई दीपाश्री निरौलाले गर्ने निश्चित भएको छ । फिल्मलाई मंसिरमा छायांकन गरेर नयाँ वर्षको छेकोमा प्रदर्शन गर्ने तयारी छ । ‘होम प्रोडक्सनको फिल्म बनाउने तय भयो । यो फिल्मलाई दीपाजीले निर्देशन गर्नुहुनेछ, दीपकले भने, ‘चैत वा वैशाख वरपर फिल्म रिलिजको तयारी छ ।

दीपक आगामी फिल्मलाई आफूहरुकै अघिल्लो फिल्म ‘वडा नम्बर ६’ को शैलीमा बनाउन चाहन्छन् । सामाजिक र कमेडी कथावस्तुमा बनाउने फिल्मको स्क्रिप्ट लेखन भइरहेको छ । अब आउने फिल्मको शैली वडा नम्बर ६ जस्तै हुन्छ, उनले फिल्मको प्रारुपबारे भने, दर्शकले हामीसँग कमेडीको पनि अपेक्षा गर्नुहुन्छ । सोहीअनुसार पेश हुन्छ । यो फिल्मपछि दीपकको कम्पनीले केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, सरोज न्यौपाने लगायतसँग मिलेर फिल्म निर्माणको योजना बनाइरहेको छ ।