सौगातको लुक्स सार्वजनिक गर्दै ‘हात्तीछाप’ को रिलिज मिति घोषणा

असोज ०२, २०८०


सौगात मल्ल स्टारर ‘हात्तीछाप’ आगामी माघ २६ गते रिलिज हुने भएको छ । निर्माताले आइतबार ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । पोस्टरमा अभिनेता मल्ललाई चित्रण गरिएको छ । जहाँ उनी सिंहासनमा बन्दुक लिएर बसेका छन् । उनको मुड र मनोदशा हेर्दा लाग्छ, मल्लको पात्र कुनै ‘उन्मत्त’ शासकजस्तो देखिन्छ । मल्लको चरित्रको नाम ‘बोतल राजा’ राखिएको छ । यो नामकरण हेर्दा लाग्छ, मल्लले फिल्ममा जड्याहाँ शासकको भूमिका निर्वाह गरेका छन् ।

सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सनविक्रम राई लगायतको अभिनय छ । सामाजिक कथावस्तुमा निर्माण भएको फिल्मलाई कमेडी शैलीमा बनाइएको छ । सुसन प्रजापतिले फिल्म खिचेका हुन् । ‘दुई नम्बरी’ निर्माण कम्पनीसँग सौगात, दयाहाङ र उपासनाको दोस्रो सहकार्य हो । फिल्ममा राजीव गुरुङ, अमलादेवी राई र पुष्कर गुरुङको लगानी छ । फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।