‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

बैशाख ०६, २०८१


आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले टाइम ट्राभलको कथा भन्छ । म्याडी पात्र अनमोल केसीले हरेकपल्ट गल्ती गर्दा उसको जीवन पहिलेकै अवस्थामा फर्किन्छ । त्यसपछि उसले आफूलाई भगवान् ठान्छ ।

ट्रेलरमा अनमोल स्टाइलिस रुपमा प्रस्तुत छन् । तर, उनको चरित्र रिसाहा र सन्की स्वभावको देखिन्छ । बोलीभन्दा अगाडि उनको मुक्का र लात्ति चल्छ । उनको ‘लभ इन्ट्रेस्ट’को भूमिकामा अभिनेत्री जसिता गुरुङ छन् । उनीहरुबीचको प्रेम, रोमान्स र सम्बन्धमा आउने उतार(चढावलाई पनि ट्रेलरले देखाइएको छ । उच्च ‘मेकिङ क्वालिटी’ र दृश्यहरुबीचको तालमेल ट्रेलरको बलियो पक्ष हो ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । यो फिल्ममा अनमोल र जसिताका साथै कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ ।

ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्मातामा छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र थापाको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।