बैंक म्यानेजर छोडेर समाज रुपान्तरणको यात्रामा मोहन भण्डारी

जेठ ३१, २०८१     डि‍.आर.एन.



त्यसो त मोहन भण्डारीको वास्तविक नाम ‘विर बहादुर भण्डारी’ हो । उनलाई विर बहादुर भण्डारी भनेर विरलै मानिसले चिन्ने गर्छन । उनी समाजमा मोहन भण्डारीको नामबाट परिचित छन् । हेर्दा फिल्मकै हिरो जस्तो लाग्ने मोहन फिल्मको पर्दाको हिरो भने होईनन् तर उनी यो समाजको लागी एक रियल हिरो भने अवश्य हुन् । अनेकौ उतार चढावका विच लामो मिहेनत र संघर्षबाट आजको स्थान सम्म आएका मोहनको जिवनी साच्चिकै एक अनुकरणीय छ । थुप्रै संघर्ष र मिहेनतबाट आज मोहनको परिचय अनेक बनेको छ ।

नेपाल राष्ट्र बैकबाट ‘क’ वर्गको मान्यता प्राप्त राष्ट्रिय स्तरको बैंकको सफल बैक म्यानेजरको छवि बनाई सकेका उनी एक सफल युवा व्यवसायि हुन् । उनी समाजसेवी पनि हुन्,उनी शैक्षिक क्षेत्रका उद्यमी पनि हुन् । बैंकिङ क्षेत्रमा लामो समय योगदान गरी सफल बैंकरको रुपमा आफुलाई दर्ज गराउन सफल उनी अन्ततः बैकिङ क्षेत्रबाट अलग भएका छन् । आजभोलि जो कोहिलाई एउटा कमरसियल वैकको म्यानेजर बन्ने सपना हुन्छ । लाखौको सपनाको संसारलाई उनले सजिलै स्वैछिक राजिनामाको पत्रबाट बैकिङ दुनियालाई छाडिदिए । आफुले काम गरिरहेको वैकलाई अव्वल स्थानमा पुर्याउन सफल भएका उनी अन्ततः समाज रुपान्तरणको यात्रामा प्रवेश गरेका छन् । यो यात्रामा प्रवेश गर्दै गर्दा उनले थुप्रै सामाजिक कामहरु गरेका छन् । जति लोकप्रियता कमाए पनि संचारको दुनियाबाट टाढै रहन मन पराउने उनी सरल,शान्त अनि तिक्ष्ण बौद्धिक क्षमता भएका पात्र हुन् । हसिलो अनुहार अनि सुन्दरताले भरिपूर्ण मोहन तुलसीपुरकै विद्यालयमा कक्षा १० सम्म अध्ययन गरी उच्च शिक्षाका लागी काठमाडौ गए ।

सामान्य घर परिवारमा जन्मेका उनी काठमाडौको बसाईलाई सरल र सहज बनाउनका लागी ट्युसन कक्षाहरु पढाउथे । उनले जति कक्षामा पढ्दै थिए त्यहि कक्षाका विद्यार्थीहरुलाई उनले पढाउथे । पढाईमा सानै देखि निकै अव्वल उनी रोजगारीको शिलशिलामा झापा गए । उनलाई त्यहाँ एउटा ईन्सोरेन्सको एजेन्टको जागिर मिल्यो । नयाँ ठाउँमा जागिरका लागी गएका उनको त्यहाँ बस्ने मन थिएन । तर केहि सिक्न,अनुभव लिन र केहि आर्थिक उपार्जन गर्न उनी त्यहाँ बस्नुपर्ने थियो । उनले सुरु सुरुमा ईन्सोरेन्सकै काम गरेपनि पछि त्यहि ठाँउमा फेरी पढाउने अवसर प्राप्त गरे । केहि समय झापा बसेर उनी तुलसीपुर आए । तुलसीपुरमा अव्वल शैक्षिक संस्थाको रुपमा रहेको राप्ती विद्या मन्दिरमा उनले प्लस टुलाई पढाउने अवसर प्राप्त गरे जहाँ उनले कक्षा १० सम्मको शिक्षा हासिल गरेका थिए । आफैले पढेको स्कुलमा पढाउन पाउदा उनी निकै खुशी थिए । राप्ती विद्या मन्दिरमा अध्यापनको यात्रालाई विट मार्दै उनी वैंकिङ दुनियामा प्रवेश गरे । तत्कालिन समयमा भार्गव विकास वैक बाट वैकिङ यात्रा सुरु गरेका उनी अन्ततः सफल बैकरको रुपमा उदाए र कमरसियल वैकको म्यानेजर भए । तुलसीपुर क्षेत्रमा रहेका वैकहरु मध्येको एक ठुलो वैंक मेघा वैंकको शाखा प्रवन्धक भएर काम गर्दैगर्दा उनले वैकको अवस्थालाई सुधार्दै राष्ट्रिय स्तरमै चर्चा कमाए । वैंकमा काम गर्दै गर्दा उनले व्यवसायमा प्रवेश गरिसकेका थिए । उनले व्यवसायलाई थप समय दिने भन्दै वैकबाट राजिनामा दिए ।

डिलाईटको यात्रा
जस्तो नाम त्यस्तै सुखद यात्रा तय भयो डिलाईट कर्नरको । सुरुमा चाउमिन र ममःमात्रै बेच्ने गरी दुई चार जना साथिहरु मिलेर तुलसीपुरमा डिलाईट कर्नरको स्थापना गरे । लोकेसनको हिसावले त्यति उपयुक्त नभएको ठाँउमा उनले ठुलै हिम्मत गरेर व्यवसाय सुरु गरे । तुलसीपुरको एउटा कर्नरमा स्थापना भएको डिलाइट कर्नरको व्यवसायिक यात्रा विस्तारै विस्तारै उकालो लाग्दै गयो । उनले डिलाईट लाई उत्कृष्ट बनाउन थुप्रै आईडियाहरु लगाए । डिलाईटले उनलाई व्यवसायमा नयाँ उचाई दियो । डिलाईट कर्नर सफल भयो । अन्ततः डिलाईट ग्रुपको निर्माण भई हाल तुलसीपुर सहित घोराहिमा पनि डिलाईटकै शाखा संचालित छ । यस्तै तुलसीपुर तथा घोराहिमा डिलाईटकै सपिङ मार्ट पनि संचालन भईरहेको छ । आज डिलाईट ग्रुपबाट संचालित व्यवसायहरु सफल अनि अव्वल सावित भएका छन् । उनले डिलाईट ग्रुपको सिईओको रुपमा जिम्मेवारी निर्वाह गरेका छन । आम मानिसको पहिलो रोजाई बन्न पुगेको छ डिलाईट जसलाई उनै मोहनले यहाँसम्मको रेखांकन गरे ।

दिव्यकुञ्ज एकाडेमीको शैक्षिक यात्रा
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मा रहेको दिव्यकुञ्ज एकाडेमीको संचालक समितीको अध्यक्षका रुपमा मोहन भण्डारीले भूमिका निर्वाह गरिरहेका छन् । तत्कालिन समयमा तुलसीपुर एकाडेमीको नामबाट संचालित उक्त विद्यालय डिलाईट ग्रुपले संचालन गर्ने लक्ष्य राख्यो । फलस्वरुप उक्त विद्यालयलाई डिलाईट ग्रुपका संचालकहरुको समूहले नयाँ व्यवस्थापनका साथ संचालन गर्यो । भौतिक पूर्वाधार देखि लिएर शैक्षिक गुणस्तरमा समेत ध्यान दिदै मोहनले विद्यालयको पुरानो संरचनालाई नै बदलिदिए र नयाँ उर्जाका साथ शिक्षामा उच्चतम गुणस्तर कायम गर्न रातदिन उनी र उनको टिम खटेर लागीपर्यो । फलस्वरुप अहिले दिव्यकुञ्ज एकाडेमी मोहनकै संलग्नतामा तुलसीपुर क्षेत्रमै उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा उदाएको छ ।

गौशाला संचालनको यात्रा
तुलसीपुर उपमहानगरपालिका वडा नं १३ अम्बापुरमा मोहनले गौशाला संचालनको नेतृत्व गरे । बजार क्षेत्रकै सुन्दरतामा आँच पुग्नेगरी बजार क्षेत्रमा छाडा रुपमा छोडिएका गाँई वस्तुहरुको उचित व्यवस्थापनका लागि उनले स्थानीय सरकारसंगको सहकार्यमा गौशालाको अध्यक्ष भइ काम गरे । उनले त्यहाँ राष्टिय जनावर समेत रहेको गाईहरुलाई संरक्षण गरी गौशाला व्यवस्थापनका सन्दर्भमा रहेर थुप्रै महत्वपूर्ण काम गरे । गौशाला संचालन गर्दै गर्दा सुरुवाती चरणमा केहि आलोचना समेत भोगेका मोहनले समाजसेवाको कर्ममा होमिएका व्यक्तिहरुलाई समाजका केहि त्यस्ता पात्रहरुले तथ्यहिन आरोप लगाउने भन्दै आफूले गौशालाको व्यवस्थापनका सन्दर्भमा आज पर्यन्त पनि निरन्तर रुपमा काम गर्दै आएको बताए ।
उनले जेष्ठ २९ गते परेको आफ्नो जन्मदिनको अवसर पारी गौशालाका गौमाताहरुको आहारा व्यवस्थापनका लागि नगद रुपैया सहित अन्य सहयोग पनि गरे ।

मोहन भण्डारी एक यस्ता व्यक्ती हुन् जसले जहाँ कर्मका पाईला टेक्छन त्यहाँ कायापलट गर्न सक्ने सामर्थ्य राख्छन् । उनले नेतृत्व गरेका अधिकाशं संस्थाहरु सफलताको पथमा हिडिरहेका छन् । डिलाईट कर्नर¸डिलाईट सपिङ मार्ट¸दिव्य कुञ्ज एकाडेमीको नेतृत्व गरेका उनी यसअघि राप्ती ववई क्याम्पसको संचालक समितीको सदस्य तथा तुलसीपुर उद्योग वाणिज्य संघको कार्यसमिती सदस्यका रुपमा समेत उनले आफ्नो भूमिका निर्वाह गरिसकेका छन् । एक प्राज्ञिक अनि कुशल नेतृत्वदायी क्षमता भएका व्यक्ती हुन मोहन भण्डारी ।