मन्त्रीपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन, प्रधानमन्त्रीसँग सोधौँलाः माधवकुमार नेपाल

जेठ ३१, २०८१


सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

बिहीवार अपरान्ह संसद भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रीपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल प्रचण्डसँग भेटेर सोध्ने बताए । 

अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला । सांसदहरुको संसदप्रति रुची कम भएको होला ।’

प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् ।  तर नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।