ओलीको आक्रोश : गुटबन्दी गर्नेलाई पार्टीमा ठाउँ छैन 

जेठ ३१, २०८१


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनमा प्यानलगत प्रतिस्पर्धा गरिएकोमा आक्रोश पोखेका छन् । बिहीबार भक्तपुर जिल्ला कमिटीका पदाधिकारीको शपथग्रहणमा उनले गुटगत प्रतिस्पर्धाले पार्टीलाई असर गर्ने बताए । 

“नलड्नु भएकोभए पनि हुन्थ्यो होला । यही जिल्ला कमिटी सहमतिका साथ मिलेर बनाएको भए हुन्थ्यो होला । निर्वाचनमा धेरैले आफूलाई भोट दिउन भनेर काम गर्नुपर्छ,” उनले भने, “कहिलेकाहीँ प्यानलबन्दीले प्रतिकूल असर पार्छ । प्यानलको लिस्ट हुन्छ । राम्रो होस् कि नराम्रो होस् । पार्टीभित्र हाम्रो प्यालन भनेपछि विवेकको प्रयोग हुँदैन ।” 

स्वच्छ निर्वाचन पार्टीको जीवनका लागि राम्रो भएको ओलीको भनाइ छ । उनले मतदानको अघिल्लो दिन भोज खुवाएर गरिएको परिणामले पार्टी नबन्ने बताए । उनले सहमति लोकतन्त्रको उन्नत अवस्था भएको बताए । ओलीले देशकै निर्वाचनमा पनि एमालेले उमेदवार उठाएपछि अरुले सहमति गर्दा हुने पक्षमा आफू रहेको सुनाए । उनले जहाँ पनि प्रतिस्पर्धा हुन नहुने बताए । उनले साना कुरामा नअल्झिएर पार्टीमा एकता आवश्यक भएको बताए । 

एकताबद्ध भएर विपक्षीसँग प्रतिस्पर्धा गरिने बताए । ओलीले अधिवेशनको ताजै समीक्षा आवश्यक नभएको समेत बताए । सँगै हिँडेर पछाडिबाट छुरा हान्ने एमालेको प्रवृत्ति नभएको ओलीको भनाइ छ । “एउटै पार्टीमा रहने । सँगै हिँड्ने । तर, पछाडिबाट छुरा हान्ने खालका षड्यन्त्रकारी प्रवृत्ति एमालेको होइन,” उनले भने । 

ओलीले पार्टीमा अन्तरसंघर्ष भन्नु गलत भएको बताए । “लफडा गर्नका लागि अन्तरसंघर्ष होइन । छलफल संघर्ष होइन । केको भित्री पार्टी संघर्ष ? पार्टीमा खुलेर छलफल हुन्छ । तर, स्वस्थ विधिबाट सही निष्कर्षमा पुग्छौँ,” ओलीले भने । 

उनले फाटो, गुटबन्दीका लागि पार्टीमा ठाउँ नरहेको बताए । “पार्टीभित्र एकताका लागि मात्रै ठाउँ छ । फाटो, विभाजन, गुटबन्दीका लागि ठाउँ छैन । पार्टीभित्र संघर्षका लागि ठाउँ छैन । एकताका लागि ठाउँ छ,” उनले भने । 

एमालेको कतिपय जिल्ला अधिवेशनमा गुटगत प्रतिस्पर्धा भएको छ । उनले प्रतिस्पर्धामा हारेकालाई संयमित हुन आग्रह गरे । “५९ वर्ष राजनीतिमा लाग्दा धेरै पटक पछारिएको अनुभव छ । पछारिँदा पछारिँदा कसरी लड्नुपर्ने रहेछ भनेर थाहा पाएको छु,” ओलीले भने ।