दिव्य कुञ्ज एकेडेमीमा योग शिक्षा कार्यक्रम सम्पन्न

असार ०८, २०८१


दाङको तुलसीपुर–७ मा अवस्थित, दिव्य कुञ्ज एकेडेमीले विद्यार्थीहरूको पढाइको सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट उनीहरुको मनोबल बढाउने उद्देश्यले एक दिने योग शिक्षा एवम् उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । आज १० औं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको बिधालयले जनाएको छ । कार्यक्रम प्रमुख प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीमा बौद्धिक क्षमता अभिबृद्धि गर्ने र शारीरिक रुपमा स्वस्थ राख्न योगको महत्त्वको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कक्षा शिशु देखि कक्षा १० सम्मका विद्यार्थी एवम् शिक्षकलाई शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो । बिधालयका प्राचार्य कुलानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बिधालयका कार्यक्रम संयोजक पूर्ण के.सीले गर्नुभएको थियो ।