‘इट्स माइ शो’ को विषयबारे अनमोलको कटाक्ष : ‘अनादर गर्नेलाई पनि अझै सम्मान दिनुस्’

असार १४, २०८१


कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति अभिनेता अनमोल केसीले पनि आपत्ति जनाएका छन् । कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको जवाफलाई लिएर अहिले तीव्र आलोचना भइरहेको छ । टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

अनमोलले उक्त कार्यक्रममा उठाइएको विषयप्रति आपत्ति जनाउँदै मंगलबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि उनीहरु तपाईंलाई सम्मान गर्छन् भने सम्मान दिनुस् । यदि उनीहरुले अनादर गर्छन् भने पनि अझै सम्मान नै दिनुस् । किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरुलाई होइन । सबैलाई सम्मान गर्नुहोस् । अनमोलको यो कटाक्षमिश्रित प्रतिक्रिया स्वस्तिमा, साम्राज्ञी र ओसिनप्रति लक्षित हो भन्ने बुझ्न गाह्रो पर्दैन ।