फिल्म ‘तथास्तु’ निर्माण हुँदै

असार १०, २०८२


काठमाडौं । ‘डोरी’ का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन् । उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात २०८३ को सुरुवातमा हुने छ भने प्रदर्शन भने सन् २०२७ मा हुनेछ ।

जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए । उनका अनुसार फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ । साथै, ‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक- भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ । निर्देशक लामाले फिल्मको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अथ्र्याएका छन् । उनले भने,‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस् । तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ । तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ ।’

निर्देशक लामाले फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरू, नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो फिल्मको छायांकन नेपाल र भारतमा हुनेछन् । फिल्मको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए । यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए । जुन फिल्मले गतिलो व्यापार गर्न सकेन । अरुण लामाले आफ्नो डेब्यु फिल्म ‘डोरी’ प्रजातन्त्र समर्थक आन्दोलनको कारण दर्शकसम्म पुग्न नसकेको बताए । उनले थपे,‘हलहरू सुनसान हुँदा फिल्मले अपेक्षित व्यावसायिक सफलता पाउन सकेन । तर जसले हेरे, प्रायः सबैले मन पराए ।’