नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनद्वारा पदबहाली

साउन १५, २०७८     सम्पूर्ण कुरा


लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन् । शुक्रबार पदबहाली गर्दै उनले सबैको सहअस्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिए ।

सरकारले गत मंगलबार दुईवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको थियो । मन्त्रिपरिषद बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गर्दै लुम्बिनी प्रदेश प्रमुखमा शेरचन, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखका रुपमा शेरचनको यो दोस्रो जिम्मेवारी हो । उनले यसअघि गण्डकी प्रदेश प्रमुख भएर भूमिका निर्वाह गरिसकेका छन् । 

एमाले नेतृत्वको प्रदेश सरकार संकटमा परेको समयमा केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गर्दै सीताकुमारी पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।