पल, मलिका र विपनाको ‘आ बाट आमा २’को टिजर सार्वजनिक
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार फिल्मको ३ मिनेट ३८ सेकेण्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा पल शाह, मलिका महत र विपना थापालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। पलले मलिकालाई बोकेर हिँडिरहेको दृश्यबाट सुरु हुने टिजरमा आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने कुरा गर्छन्। त्यसपछि आमाको फोन नउठाएको र घर फर्किँदा आमालाई सुतिरहेको देखेपछि कृष्णमा देखिएको डर र बेचैनीलाई टिजरमा प्रस्तुत गरिएको छ।
दसैँको परिवेशमा तयार पारिएको फिल्मले आमा–छोराको सम्बन्ध, आमाको पर्खाइ र पारिवारिक संवेदनालाई कथाको केन्द्रमा राखेको छ। ‘दसैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषय बनाइएको फिल्ममा पल शाह, मलिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सविन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्मको लेखनमा रोशन भट्ट पनि छन् भने संवाद भट्टले लेखेका हुन्। करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ।







