कोरोनाका कारण ‘राष्ट्रिय चलचित्र पुरस्कार’ स्थगित

असार ०४, २०७७


नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले यही असार १६ गते आफ्नो २०औं वार्षिकोत्सव मनाउँदैछ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति निवासमा राष्ट्रपतिको हातबाट फिल्मकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । गत वर्ष तीन वर्षको राष्ट्रिय पुरस्कार एकैपटक बाँडिएको थियो ।  तर, यस वर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह नहुने भएको छ । नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले केही महिना कुनै प्रकारका कार्यक्रम नगर्न सरकारी निकायहरुलाई पत्रचार गरेका कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।  अर्को वर्ष दुई वर्ष (२०७६-०७७) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडिने उनले बताए । यस वर्ष बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम पनि नहुने उनको भनाई छ । कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई पुनः चलायमान बनाउन अहिले बोर्डले विभिन्न योजनाहरु बनाइरहेको छ । चाँडै बोर्डले आन्तरिक कोषबाट राहत प्याकेज पनि घोषणा गर्दैछ । केशव भट्टराईको निधन भएपछि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले दुई हप्ताअघि दयाराम दाहाललाई नियुक्त गरेको थियो । कोरोनाले फिल्म क्षेत्र थिलथिलो बनाएको अवस्थामा बोर्ड अध्यक्ष भएका उनीबाट फिल्मकर्मीहरुले ठूलो आश बोकेका छन् । उनले यो विषम परिस्थितिबाट फिल्म क्षेत्रलाई कसरी पार लगाउलान् भन्ने विषयमा सबैको चासो छ ।