‘डान्सिङ विथ दि स्टार्स’ प्रसारणको तयारीमा हिमालय टीभी

असार २५, २०७७


कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरूले लोकप्रिय स्टारहरूको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको छ ।

‘हामीले सबैै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने- ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’

२६ श्रृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिष्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एक जना बाहिरिँदै जान्छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने–‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा ‘डान्सिङ विथ दि स्टार’ सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं ।’

हिमालय टेलिभिजन एचडीले ‘दि भ्वाइस अफ नेपाल’ ‘दि भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता चर्चित रियालिटी सोहरू प्रसारण गर्दै आएको छ । ‘डान्सिङ विथ दि स्टार्स’ प्रसारण सुरु भएसँगै ‘भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।