रहेनन् राजेश हमालका भाई

साउन ०७, २०७७


नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो ।

कलेजोको समस्याका कारण उनलाई केही दिनअघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । नयाँ दिल्लीको ह्याम्स अस्पतालमा उनको निधन भएको हो ।  अभिनेता राजेश र राकेशको परिवार राजधानीमा एउटै घरमा बस्दै आएका छन् ।

राजेश हमाल अहिले काठमाडौंमै छन् । उनका एक मात्र भाई हुन्, राकेश । एउटै घरमा बस्ने भएकाले उनी भाईसँग निकै नजिक थिए । राकेशको शव अन्त्येष्टिका लागि नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

दाई फिल्म क्षेत्रमा आबद्ध भए पनि राकेश यस क्षेत्रबाट बाहिर थिए । उनीहरुका तीन दिदीबहिनी छन् । राकेश हमालको निधन भएपछि आफन्तहरु कपूरधारास्थित हमाल निवासमा जम्मा भएका छन् ।

राकेशका श्रीमती र दुई छोरा-छोरी छन् । पारिवारिक स्रोतका अनुसार, दिल्लीमा शल्यक्रियापछि उनको निधन भएको हो ।