सलोन बस्नेतले आफ्नै लगानीमा फिल्म ‘रुम नम्बर १०८’ बनाउने

भदौ ०१, २०७७


अभिनेता तथा अभिनेत्रीहरु फिल्म निर्माणमा होमिने क्रम बढ्दो छ । आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, भुवन केसी, प्रदीप खड्का, रमेश उप्रेतीलगायत धेरै कलाकारले आफूलाई निर्माताको रुपमा पनि उभ्याइसकेका छन् । तर, एकाधबाहेक प्रायः लाई अभिनयमा झैं फिल्म निर्माणमा सफलता मिलेको छैन ।

यसै क्रममा फेरि एक अभिनेताले फिल्म निर्माण गर्ने भएका छन् । अभिनयमा पारंगत मानिने सलोन बस्नेतले आफ्नै लगानीमा फिल्म ‘रुम नम्बर १०८’ बनाउने भएका छन् । यो नाममा यसअघि गीत पनि सार्वजनिक भइसकेको छ । उक्त गीतमा सलोन र आमेश भण्डारीले आवाज भरेका थिए भने उनीहरु स्वयंको अभिनय थियो । यही गीतको नाम सापटी लिँदै निर्माण हुन लागेको फिल्ममा सलोन र आमेशले मुख्य भूमिका निभाउने जानकारी प्राप्त छ । 

 ‘सम्हालिन्छ कहिले मन’, ‘यात्रा’, ‘सो सिम्पल’ लगायत थुप्रै फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका सुरेश न्यौपानेले फिल्मको निर्देशन गर्नेछन् । उनले अहिले ‘साथ सधैं’ नामक एक टेलिसिरियलको निर्देशन गरिरहेका छन्, जसलाई सलोनले नै निर्माण गरेका हुन् । ‘सलोन सलिना फिल्मस्’ को ब्यानरमा निर्माण हुने फिल्म प्रेमकथामा आधारित हुने बुझिएको छ ।

 सलोनका पिता तथा निर्देशक शोभित बस्नेतका अनुसार, फिल्मको स्क्रिप्ट ‘लक’ भइसकेको छ । सरकारले छायांकनको अनुमति दिएसँगै फिल्म फ्लोरमा निस्कने उनले बताए । फिल्मका लागि दुई मुख्य अभिनेता फाइनल भए पनि अभिनेत्रीको भने टुंगो लागेको छैन । सलोन र आमेशले यसअघि फिल्म ‘मेला’ मा काम गरेका थिए । यसपछि उनीहरुबीच बलियो मित्रता कायम भएको छ ।