“म त तिम्रो बाबा हुँ”

भदौ ०३, २०७७     अनिमा बैद्म(थापा)


म त सबैभन्दा कठोर मान्छे,अनि बलवान पनि
तिम्रो लागी श्रेष्ठ अनि सर्बमान् पनि
किनकी म त तिम्रो बाबा हुँ ।

शाहेत,तिमीले अहिले सम्म म रोएको देखेको छैनौ
र म देखाउन पनि चाहान्न,किनकी
म त तिम्रो बाबा हुँ
मलाई सधै तिम्रो अगाडी बलवान हुनु छ ।
पहाड जस्तै अडिक बनेर तिम्रो साहारा बन्नु छ ।।

तिम्रो सुन्दर भविष्यको लागी,खिइसकेका मेरा यी पैतालाहरु
कयौँ पटक तिमीले के भएको बाबा ? भनि सोध्दा,
मैले केही पनि हैन भनि सिरक मुनी लुकाएको छु ।
किनकी म त तिम्रो बाबा हुँ
मलाई तिम्रो लागी अदम्य साहासी बन्नु छ ।

जब म काम बाट फर्कन्छु,तिमी मस्त निन्द्रामा हुन्छौ
अनि म तिम्रो मिठो सपनिको लागी
आफ्नो पसीनाको मूल्य सोच्न थाल्छु
किनकी म त तिम्रो बाबा हुँ
मलाई तिम्रो लागी प्रेरक बन्नु छ ।
आफ्ना सारा रहरहरु बेचेर भएपनी तिम्रो खुसी किन्नु छ ।।