७५ बर्षमा नीर शाह र ७८ बर्षमा अमिताभ बच्चन

असोज २५, २०७७


नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक, कलाकार, निर्माता, लेखक तथा गीतकार नीर विक्रम शाह आजबाट ७५ बर्षमा प्रवेश गरेका छन् । कलाकार शाहलाई सामाजिक संजालबाट चलचित्रकर्मी तथा शुभेच्छुकहरुले शुभकामना प्रदान गरिरहेका छन् ।

शाहले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘परिवर्तन’ हो । शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका चलचित्रमका अभिनय गरेका छन् ।

शाहले ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

शाहले लेखेका चलचित्रका गीतहरु पनि निकै सफल छन् । उनले लेखेका ‘पर्खिबसे आउला भनी, छोरी मलाई भागी भागी नसताउ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्ती’ लगायतका गीतहरु सर्वाधिक चर्चामा रहे ।

शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् । नेपाली चलचित्र क्षेत्रमा उनलाई ‘भिष्म पितामह’ पनि भन्ने गरिन्छ । नीर शाहले थुप्रै राष्ट्रिय अवार्डहरु समेत पाएका छन् ।

आज पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका कलाकार शाहलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यसैविच बलिउड नायक अमिताभ बच्चन आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका अमिताभ बच्चनले चलचित्र ‘सात हिन्दुस्तान’मा पहिलो पटक काम गरेका थिए ।

७० को दशकमा अमिताभले अभिनय गरेका ‘जन्जिर, दिवार, सोले’ जस्ता चलचित्रले बक्स अफिसमा धुम मच्चाए । ७० र ८० को दशकमा अमिताभले सिंगो बलिउडलाई आफ्नो काँधमा बोकेका थिए ।

भारतका प्रतिष्ठित अवार्डको साथमा विभिन्न देशबाट समेत सम्मानित भएका नायक बच्चनले थुप्रै चलचित्र सम्बन्धी अवार्ड समेत प्राप्त गरेका छन् ।

सन् १९८२ जुलाई २६ मा चलचित्र ‘कुल्ली’को छायांकनका क्रममा अमिताभ घाइते भएका थिए । उनी सो समयमा लामो समयसम्म अस्पतालमा रहेका थिए । यसपछि भने अमिताभ बच्चनले लामो समयसम्म चलचित्रमा काम गरेनन् । यो चलचित्रले बक्स अफिसमा भने धुम मच्चाएको थियो ।

आज पनि अमिताभ बलिउडमा सक्रिय छन् । उनी, ‘कौन बनेगा करोडपति’ जस्तो लोकप्रिय शोको संचालक समेत हुन् ।

अमिताभको जन्मदिनमा उनको घर अगाडि हजारौ फ्यानको भीड लाग्ने गरेको थियो । तर, कोरोना भाइरसका कारण यो बर्ष अमिताभले जन्मदिनको कुनै पनि कार्यक्रम आयोजना गरेका छैनन् ।

बलिउडमा उनलाई थुप्रै उपनामले बोलाइन्छ । बलिउड चलचित्रका अग्लो कदमा यी नायकलाई जन्मदिनको शुभकामना ।