धमाधम युट्युब च्यानल खोल्दै नेपाली नायिका, को कति लोकप्रिय ?

असोज २८, २०७७


काठमाडौं । नेपाली नायिकाहरुले आफ्नै युट्युब च्यानल खोल्न थालेका छन् । विशेषगरी कोरोनाभाइरस संक्रमणको महामारीपछि नायिकाहरु युट्युब च्यानल खोल्न अग्रसर भएका देखिन्छन् । कोरोनाभाइरस संक्रमण बढेसँगै चलचित्रका काम बन्द छन् । जस कारण उनीहरु फुर्सदिला देखिन्छन् ।

आफ्ना दर्शक र शुभेच्छुकहरुमाझ पुग्न पनि उनीहरु युट्युब च्यानल खोल्न थालेका छन् । तर, सक्रिय रुपमा भने उनीहरु लागेका देखिँदैन्न । केही नायिकाहरुले युट्युब च्यानल खोलिसकेका छन् भने केही खोल्ने तयारीमा छन् । 

क–कसको छ युट्युब च्यानल ?

नायिका रीमा विश्वकर्माले चार वर्ष अघि युट्युब च्यानल खोलेकी थिइन् । उनको च्यानलको सब्स्क्राइबर्स ४० हजार चार सय रहेको छ । 

एक बर्ष अघि नायिका प्रियंका कार्कीले खोलेको युट्युब च्यानलको सब्स्क्राइबर्स एक लाख ६५ हजार रहेको छ । यस्तै एक वर्ष अगाडि नै नायिका वर्षा राउतले खोलेको युट्युब च्यानलको सब्स्क्राइबर्स एक लाख ६९ हजार रहेको छ । 

नायिका केकी अधिकारीले पनि युट्युब च्यानल चलाएकी छन् । पाँच महिना अघि खोलेको उनको युट्युब च्यानलको सब्स्क्राइबर्स हेर्न नमिल्ने बनाइएको छ । 

यस्तै स्वस्तिमा खड्काको पनि युट्युब च्यानल सञ्चालनमा छ । तीन महिना अघि उनले खोलेको युट्युब च्यालनको सब्स्क्राइबर्स पनि हेर्न नमिल्ने बनाइएको छ । 

आउँदो कात्तिक १ गतेबाट नायिका श्वेता खड्काको पनि युट्युब च्यानल सञ्चालनमा आउने भएको छ । अन्य नायिकाहरु पनि युट्युब च्यानल खोल्ने तयारीमा रहेका छन् । 

नायिकामात्रै होइन पछिल्लो समय गायक, गायिका तथा संगीतकारहरुको आफ्नै युट्युब च्यानल रहेका छन् । यस्तै हास्यव्यंग्य कलाकारहरुको पनि आफ्नै युट्युब च्यानल रहेका छन् । जसमार्फत आफ्ना दर्शक र शुभेच्छुकहरुसँगको कलासम्बन्धलाई निरन्तरता दिन उनीहरु सक्रिय छन् ।