सबै मिलेर फिल्म क्षेत्रलाई उठाउनुपर्छ : नायक पुष्प खड्का

कार्तिक २०, २०७७


नायक पुष्प खड्का नयाँ २ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनले चलचित्र ‘कृष्ण लीला’ र मुकुन्द भट्टको निर्देशनमा तयार हुन लागेको एक्सन चलचित्रमा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘कृष्ण लीला’ को छायांकन मंसिर १५ गतेबाट सुरु हुने बताइएको छ । नायक पुष्प खड्का सबै जना मिलेर चलचित्र क्षेत्रलाई उठाउनुपर्ने बताउँछन् ।

पुष्पले भने–‘अहिले हामी सबैले मिलेर यो क्षेत्रलाई उठाउनुपर्नेछ । यो अवस्थामा हातेमालो गरेर चलचित्र निर्माणमा सहज वातावरण बनाउन आवश्यक छ । पुष्पले चलचित्र तथा म्यूजिक भिडियोमा काम गर्दा पारिश्रमिक कम लिएको बताए । उनले भने–‘लकडाउनपछि मैले म्यूजिक भिडियोमा ३० प्रतिशत भन्दा बढी पारिश्रमिक कम गरेर काम गरिरहेको छु ।

चलचित्र कृष्ण लीलामा केही प्रतिशत पारिश्रमिक र बाँकी रकम शेयरमा काम गरेको हुँ । पुष्पले लकडाउनपछि म्यूजिक भिडियो धेरै गरेर करिअरलाई घाटा नलागेको पनि बताएका छन् । उनले, चलचित्र रिलिजको समयमा म्यूजिक भिडियोमा कम काम गर्ने बताएका छन् ।