७ वर्षपछि निर्देशनमा फर्किँदै दीपक श्रेष्ठ

मङि्सर २३, २०७७


एक समय हिट फिल्मका ग्यारेन्टी मानिने दीपक श्रेष्ठ निर्देशनमा सुस्ताएको ७ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक उनी निर्देशित फिल्म ‘रङ वे’ प्रदर्शनमा आएको थियो । यो फिल्मको असफलता पछि निर्देशनबाट टाढा भएका उनी अब नयाँ फिल्म बनाउने आन्तरिक तयारीमा लागेका छन् । श्रेष्ठले फिल्मका लागि मुख्य अभिनेताको प्रस्ताव विपिन कार्कीलाई गरेका छन् ।

अहिले विपिनले फिल्मको स्क्रिप्ट पढिरहेका छन् । पारिवारिक विषयवस्तुमा फिल्म बनाउन सिपालु मानिने श्रेष्ठले गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथालाई पर्दामा उतार्न लागेको बताए । उनी विपिन कार्कीले फिल्म गर्नेमा विश्वस्त देखिएका छन् । कोरोनाको स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनी छन् । फिल्मको नाम भने गोप्य राखिएको छ ।

लामो समय निर्देशनबाट टाढा रहनुको कारणबारे दीपक श्रेष्ठले फिल्मीखबरसँग भने म निर्देशनबाट कहिल्यै टाढा थिइनँ । न त निर्देशनमा फर्किन नै लागेको हुँ । फर्किनलाई त छाडेको हुनु पर्‍यो नी १ समय, काल, परिस्थितिका कारण केही समय चाहिँ लागेको हो । केही फिल्ममा अभिनय समेत गरेका उनी नेपालमा सिक्वेल फिल्म निर्माणको सुरुवात गर्ने पहिलो निर्देशक हुन् ।

उनी निर्देशित फिल्म ‘पापी मान्छे २’ नेपालमा निर्माण भएको पहिलो सिक्वेल फिल्म हो । अभिनेता निखिल उप्रेती स्टारर ‘पापी मान्छे’ को दुईवटा सिरिज उनको करिअरको पनि सर्वाधिक सफल फिल्म हो । ‘पहिलो पहिलो माया, तकदिर, भाई, पर्खि बसेँ, हिम्मत, हिम्मत २, सुर्य चन्द्र, वचन’ जस्ता फिल्मको निर्देशन गरिसकेका उनी व्यवसायिक रुपमा सफल निर्देशकमा गनिन्छन् ।