‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना

मङि्सर २५, २०७७


निर्माणाधीन फिल्म ‘डिसेम्बर फल्स’ की नायिकामा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। केही समयअघि निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। त्यति बेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसार हिरोइनको खोजी जारी रहेको बताएको थियो। अन्ततः ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन्।

भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ मा अभिनय गरेकी थिइन्। अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन्। उपासनालाई पछिल्लो समय आधा दर्जनभन्दा बढी फिल्मको अफर गएको थियो। त्यसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दै छन्। लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनोट कार्य अझै जारी छ।

भारतीय फिल्म उद्योगमा व्यस्त छायांकार रवि नायडुले खिच्ने फिल्मको कथा बिपिका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो। दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ देखि सुरु गर्ने योजना निर्माण पक्षको छ । २०७८ साउन १ गते प्रदर्शन मिति तोकिएको फिल्म काठमाडौं र पोखरामा खिचिनेछ।