१ नम्बर ट्रेन्डिङमा ‘दाल भात तरकारी’

पुष ०२, २०७७


गतबर्षको बैशाखमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ युटुबमा सार्वजनिक भएको एक साता भयो । युटुबमा सार्वजनिक भएको एक सातामा नेपालमा नम्बर १ ट्रेन्डिङमा रहेको चलचित्र लाई २२ लाख भन्दा बढी पटक हेरिएको छ ।

यो चलचित्रले हलमा औषत व्यापार गरेको थियो । निर्माताले लगानी सुरक्षित गरेपनि चलचित्रले समिक्षागत रुपमा पनि निकै नै कमजोर प्रतिक्रिया पाएको थियो । दर्शकले पनि चलचित्रलाई खासै रुचाएनन् । सायद, यही कुरा वुझेर नै होला मह संचार नामक युटुब च्यानलबाट रिलिज गरिएको चलचित्रको कमेन्ट सेक्सन नै बन्द गरिएको छ । दर्शकले यो चलचित्र हेरिसकेपछि युटुबमा कुनै पनि प्रतिक्रिया दिन नपाउने बनाइएको छ ।

यसको अर्थ, चलचित्र हेरेपछि दर्शकले दिने नकारात्मक प्रतिक्रियाबाट यसको निर्माणपक्ष बच्न खोजेको देखिन्छ । सुदन केसीको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, किरण केसी, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारको अभिनय छ । चलचित्रले केही हलमा ५१ दिन मनाएतापनि दर्शकको प्रतिक्रिया भने सुखद पाएन ।

मह जोडी यसको नराम्रो प्रतिक्रियाबाट युटुबमा पनि बच्न खोजेको देखिएको छ । किरण केसीले यो चलचित्रको निर्माण गरेका हुन् ।