आज राष्ट्रिय सभाको अधिवेशन शुरू हुँदै

असार १७, २०७८


असार १७, सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि शुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गर्नेछ । बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ । अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन् ।

बैठकमा यस बीचमा जारी अध्यादेशसमेत पेश गरिनेछ । प्रतिनिधि सभाविहीन अवस्थामा शुरु हुन लागेको यस अधिवेशनबाट विधेयक निष्कर्षमा पुग्ने अवस्था रहन्न। ५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गत पुस १७ गते शुरु भइ २६ गते अन्त्य भएको हो।