‘रियल हिरो’ को सम्मान लिँदै पल शाह

असार १७, २०७८


कोरोना महामारीका कारण समस्यामा परेका फिल्मकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ ले अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’ को उपाधिबाट सम्मान गरेको छ । सोमवार एक कार्यक्रमका बीच उनलाई उक्त उपाधि प्रदान गरिए पनि राहत वितरणका लागि राजधानी बाहिर भएकाले पल सम्मान कार्यक्रममा उपस्थित हुन पाएका थिएनन ।

मंगलवार एक कार्यक्रमका बीच रजतपट कोशेलीका प्रकाश सुवेदी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतले पललाई सात केजीको माला लगाएर सम्मान पत्र प्रदान गरे । गत वर्षदेखि सक्रिय रुपमा सामाजिक कार्यमा लागेका उनले कोरोना पीडितदेखि बाढी पीडितसम्मलाई सहयोग गरेका छन् । सोही सामाजिक कामका लागि उनलाई ‘रियल हिरो’ को उपाधि प्रदान गरिएको हो ।

सम्मानपछि उनले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताए । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाई छ । यो सम्मान पाउँदा भावुक भएको बताउँदै उनले सम्मान पाउनका लागि आफूले सामाजिक काम नगरेको बताए । अरुलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेहरुलाई पनि उनले जवाफ दिएका छन् ।

उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।

सोमवार पक्राउ परेका हाम्रो टिम नेपालका सदस्यलाई रिहाइको माग गर्दै पलले राज्यको यसप्रकारको व्यवहारले राम्रो काम गर्न चाहनेहरु निरुत्साहित हुने बताए । ‘सरकारले गर्नुपर्ने काम अहिले आम जनताले गरिरहेको छ । बेसहाराहरुका लागि सहारा बनेर काम गरिरहेको हाम्रो टिम नेपालका सदस्यलाई पक्राउ गर्नु अत्यन्त दुःखद कुरा हो । सरकारले लाजमर्दो काम गर्‍यो,’ उनले भने ।